‘अवतार २’को छायांकन पुनः सुरु

कोरोना भाइरसले निम्त्याएको लकडाउनका कारण ठप्प नै रहेको चलचित्र क्षेत्रमा सावधानी अपनाउँदै पुनः कामहरू सुरु हुन थालेको छ । यसैबीच हलिउडको सर्वाधिक चर्चित चलचित्र ‘अवतार’ को सिक्वेल छायांकन पुनः सुरु भएको छ । ‘अवतार’ को सिक्वेलको घोषणा २०२० मा भएको थियो । तर, विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण चलचित्रको छायांकन अनिश्चितकालका लागि रोकिएको थियो । निर्माता जोन ल्यान्डौले चलचित्रको छायाङ्कन पुनः सुरु भएको जानकारी दिएका हुन् ।

‘अवतार २’ को बाँकी छायांकनका लागि निर्देशक जेम्स चलचित्रको टिमसहित केही हप्ताअघि न्यूजिल्याण्ड पुगेका थिए । त्यहाँ उनीहरु सरकारको निर्देशनअनुसार १४ दिन क्वारेन्टाइनमा बसेका थिए । क्वारेन्टाइन बसाईपछि निर्देशक जेम्सले चलचित्रको बाँकी छायांकन सुरु गरेका छन् । चलचित्रमा अन्डरवाटर सिन हुनेछ । छायांकन स्थलमा सामाजिक दूरी कायम गरिएको छ ।

‘अवतार २’ मा सेम वर्थिंगटन र जो सलदाना प्रमुख भूमिकामा छन् । ‘अवतार २’सन् २०२१ मा प्रदर्शन गर्ने तयारी थियो । ‘अवतार’ हलिउडकै अहिलेसम्म सर्वाधिक कमाउने चलचित्रमध्ये एक फिल्म हो । ‘अवतार’ रिलिज भएको १० वर्षपछि यसको सिक्वेल बन्न सुरु भएको हो ।

Leave a Reply