‘प्रेम गीत ३’ को मोसन टिजरमा प्रदीप योद्धा अवतारमा

यस वर्षको बहुप्रतिक्षीत चलचित्र मध्ये एक ‘प्रेमगीत ३’ को मोसन टिजर सार्वजनिक भएको छ । कात्तिक २२ गतेबाट फ्लोरमा निस्कन लागेको चलचित्रको टिजर पोस्टरमा चकलेटी ब्वाई प्रदीप खड्का फिचर्ड छन् । सार्वजनिक पोस्टरमा चलचित्रमा मुख्य भूमिका निर्वाह गरेका अभिनेता प्रदीप खड्कालाई मात्र अताइएको छ । २ सय वर्ष पुरानो प्रेमकथामा आधारित भएर निर्माण हुने चलचित्रको टिजरमा प्रदीपको योद्धा राजकुमारको अवतारमा प्रस्तुत गरिएको छ ।

चलचित्रमा प्रदीप, क्रिस्टिना गुरुङ, अनुभव, शिव र मनिषका साथै बालकलाकार समृद्धी शाही ठकुरी, भिलेनको भूमिकामा निर्माता सेन, लक्ष्मी बर्देवा, माओत्से गुरुङ, जीवन भट्टराई, जीवन बराल, जोत्सना खत्री, शिशिर राणा तथा सुनिल थापालगायतका कलाकारहरूको अभिनय रहने भएको छ । नयाँ वर्षको छेको पारेर चलचित्रलाई चैत्र २८ गते रिलिज गरिने तयारीमा रहेको छ । ‘प्रेमगीत’ को अघिल्ला दुई सिरिजमा चुलबुले र रुन्चे भूमिकामा देखिएका प्रदीपले यसपटक आफ्नो भूमिका दर्शकलाई फरक लाग्ने बताएका छन् ।

चलचित्रको अघिल्लो दुई सिरिज प्रेममा आउने उतारचढावमा केन्द्रित थियो । तेस्रो श्रृंखला २ सय वर्ष पुरानो प्रेमकथामा आधारित भएर निर्माण हुन लागेको हो । चलचित्रको छायांकन मनाङ र काठमाडौमा हुने निर्माता सन्तोष सेनले जानकारी दिएका छन । चलचित्रको छायांकनका लागि नेपालमै पहिलो पटक ठूलो सेट निर्माण गरिएको निर्माण युनिटको दाबी छ ।

आशुसेन फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको चलचित्रलाई निर्देशक छेतन गुरुङ र सन्तोष सेनले मिलेर निर्देशन गर्ने भएका छन् । कल्याण सिंह र एलिश कार्कीको संगीत रहेको चलचित्रमा राजेश श्रेष्ठको डिओपी, हिमाल केसीको एक्सन, कविराज गहतराजको कोरियोग्राफी र बनिश शाह/भुपेन्द्र अधिकारीको सम्पादन रहनेछ ।

Leave a Reply