सत्यराजको ‘अन्तरे’मा ‘बुलबुल’ का ‘चोपेन्द्र’ फाइनल

चलचित्र ‘बुलबुल’मा चोपेन्द्रको भूमिकामा अभिनय गरेर चर्चा कमाएका अभिनेता मुकुन भुषालले नयाँ चलचित्र ‘अन्तरे’मा अभिनय गर्ने भएका छन् । सत्यराज चौलागाईंले निर्देशन गर्ने ‘अन्तरे’को शिर्ष भूमिकामा भुषालले अभिनय गर्नेछन् । उनी यसै साता चलचित्रमा आबद्ध भएका हुन् ।

मुकुनले चलचित्रको स्क्रिप्ट राम्रो लागेका कारण काम गर्नका लागि राजी भएको बताए । ‘चलचित्रको मुख्य पात्र अन्तरे हो र अन्तरेको भूमिका बलियो छ । ‘बुलबुल’ बाट मैले पाएको माया दर्शकबाट नमरोस भनेर मैले धेरै स्क्रिप्ट पढिरहेको थिएँ । त्यहि बिचमा यो चलचित्रको पनि पाएँ । मैले जे खोजेको थिएँ त्यहि यसमा पाएँ’ मुकुनले भने, ‘मैले मेरो आफ्नो पात्र मात्र हेरिन, पुरै स्क्रिप्ट पढेँ । स्क्रिप्टमा जे लेखिएको छ पुरै चलचित्रमा देखाउन सकिने गरि लेखिएको छ । समग्रमा ‘अन्तरे’ नेपालमा चाहिएको जस्तै चलचित्र बन्नेछ’ ।

चरित्र प्रधान रहने चलचित्रको लागी सोही अनुसारको कलाकारको खोजी भइरहेको निर्देशक चौलागाईंले बताएका छन् । रेड आइज फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको ‘अन्तरे’मा राज पण्डित र सुवास राईको लगानी रहनेछ । निर्माता राज पण्डितका अनुसार चलचित्र फागुनको पहिलो साता फ्लोरमा जानेछ ।

Leave a Reply