‘सम्झना बिर्सना’मा पूजा र आकाशको जोडी

नायिका पूजा शर्मा र नायक आकाश श्रेष्ठले पर्दामा चौथो पटक सहकार्य गर्ने भएका छन् । पूजा र आकाशको मुख्य भूमिका रहने चलचित्र ‘सम्झना बिर्सना’को आज शुभसाइत गरिएको छ । भद्रकाली मन्दिरमा पूजा गर्दै चलचित्रको शुभसाइत गरिएको हो ।

चलचित्रमा सुनिल थापा, शिशिर राना, चाँदनी शर्मा लगायतका कलाकारको अभिनय रहेको छ। चलचित्रको मुहूर्त समारोहमा अभिनेत्री पूजाले ‘सम्झना बिर्सना’ को कथावस्तु मन परेर काम गर्न राजी भएको बताइन् । चौथो पटक आकाशसँग काम गर्न पाउँदा खुसी महशुस भएको उनको भनाई छ । अभिनेता आकाश पनि बलियो कथाका कारण चलचित्र गर्न लागेको बताए । उनी चलचित्र राम्रो बन्नेमा विश्वस्त देखिएका छन् ।

पूर्ण प्रेमकथामा निर्माण हुने बताईएको चलचित्र दार्जिलिङ्ग, सिक्किम र नेपालमा छायाकन हुनेछ। निमेष प्रधानले निर्देशन गर्ने चलचित्रमा आदित्य प्रधान र रेविका प्रधान निर्माताको रुपमा रहेका छन्। यी दुई अभिनित ‘रामकहानी’ रिलिज भैसकेको छ भने ‘सम्हालिन्छ कहिले मन’ रिलिजको तयारीमा छ ।

कार्तिक २१ गतेबाट फलोअरमा जाने चलचित्र आदित्य फिल्मस्को ब्यानरमा निर्माण हुनेछ । पूजा र आकाशले अभिनय गरेको चलचित्र ‘पोई पर्यो काले’ आजबाट देशभर रिलिज भएको छ ।

Leave a Reply