‘लप्पन छप्पन–२’ आउँदो फागुण २७मा रिलिज हुने

गएको तीन वर्षअघि प्रदर्शनमा आएको चलचित्र ‘लप्पन छप्पन’ को सिक्वेल ‘लप्पन छप्पन २’को प्रदर्शन मिति तय भएको छ । शिवरात्रीको अवसर पारेर यो चलचित्रलाई फागुण २७ गतेबाट रिलिज गर्ने तयारी गरिएको हो ।  मुकुन्द भट्टद्वारा निर्देशित चलचित्र २०७७ साल बैशाख १२ मा रिलिज हुने तय भएको थियो । तर, कोरोना महामारीका कारण लकडाउन भएपछि चलचित्र रिलिज हुन सकेको थिएन । एक्सन ड्रामा चलचित्रमा शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाही, गोविन्द शाही, प्रकाश कुँवर, दीपक क्षेत्री, नविन मानन्धर, विशाल पहारी, किशोर भट्ट, सरिता गिरी, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्टलगायतका कलाकारको अभिनय छ । खिलेन्द्रराज तिमसिनाको प्रस्तुति ‘लप्पन छप्पन २’बाट शक्ति श्रेष्ठ, केरोलिन कोलिन्डा, सुपर गुरुङ, आना ढकाल, श्रिजना सिना, रन्जीत ओन्तालगायतले अभिनयमा डेब्यु गर्दैछन् । नेपालसहित अस्ट्रेलिया र युरोपमा खिचिएको चलचित्रमा अघिल्लो पार्टमा पनि प्रमुख भूमिकामा रहेका सौगात र अर्पण नेगेटिभ रोलमा छन् ।

चिजकुमार श्रेष्ठ र प्रजापति सिवाकोटीले संयुक्त रुपमा निर्माण गरेको चलचित्रको कार्यकारी निर्माता प्रकाश कुँवर र निर्मल कुमार मिश्र हुन् । चलचित्रलाई पुरुषोत्तम प्रधानले खिचेका हुन् । चलचित्रका गीतमा मिस्टर आरजे, शम्भुजित बाँस्कोटा,बुलेट फ्लो र दिपक आरजेको संगीत छ । चलचित्रमा किङ योगी र दिलिप ओकेधाको कोरियोग्राफी छ भने, हिमाल केसीसहित निर्देशक भट्टले एक्सन, निरज केसीले साउण्ड र मिलन श्रेष्ठले सम्पादनमा काम गरेका छन् । इपी एजुकेशन अष्ट्रेलिया र गोल्डेन हिल्स् पिक्चरको संयूक्त ब्यानरमा बनेको चलचित्रलाई ‘डेन्जरस गेम’ भनिएको छ ।

Leave a Reply