रामकृष्ण पोखरेलको ‘रिभर इन दि मिरर’ बुसानको एपीएममा

निर्माता रामकृष्ण पोखरेलले निर्माण गर्न लागेको चलचित्र ‘रिभर इन दि मिरर’ बुसानको एसियन प्रोजेक्ट मार्केट (एपीएम)मा छनोट भएको छ । भुटानका निर्देशक टासी ग्याल्क्षेनसँगको सहकार्यमा यो चलचित्र बन्दैछ । यो साल छनोट भएका २२ चलचित्रमध्ये एक चलचित्र यो पनि हो । एसियन प्रोजेक्ट मार्केट कोरियामा वर्षेनी हुने बुसान फिल्म फेस्टिभलको महत्वपूर्ण कार्यक्रम हो । यो फिल्म फेस्टिभल अक्टोबर ७ देखि १६ सम्म सीमित विदेशी फिल्मकर्मीका साथ भर्चुअल रुपमा सम्पन्न हुने कार्यतालिका तोकिएको छ ।

पोखरेल र ग्याल्क्षेनले यसअघि निर्माण गरेको फिल्म ‘रेड फालुस’ले सन् २०१८ मा बुसानमै भएको प्रतिस्पर्धामा फेप्रिस्की अवार्ड जितेको थियो । एसियाका फिल्ममेकरलाई विश्व सिनेमासम्म पुर्याउने उद्देश्यले सुरु भएको एपीएममा यो साल नेपालसँगै जापान, चीन, बंगलादेश, भारत, श्रीलंका, ताइवान आदि देशका फिल्ममेकर छनोट भएका छन् ।

कोभिड १९ का कारण यो सालको फेस्टिभल भने भर्चुअल हुनेछ । त्यसैले एपीएम पनि अक्टोबरको १२ देखि १४ सम्म भर्चुअल रुपमै सम्पन्न हुने पोखरेलले जानकारी गराए । उनले एपीएम एसियाका फिल्ममेकरलाई लगानीकर्ता खोज्ने सवालमा महत्वपूर्ण प्लेटफर्म रहँदै आएको बताए । ‘नेपाल जस्तो देशका लागि विश्व चलचित्रको बजारमा उपस्थिति देखाउन एपीएम एकदमै राम्रो स्थान मानिन्छ । योसँगै युरोपमा प्रोड्युसिङ पार्टनर भेट्टाउनमा पनि यसले मद्दत गर्ला भन्ने अपेक्षा छ’, पोखरेलले भने । ‘रिभर इन दि मिरर’ले १० वर्षे बालकले ८१ वर्षीय हजुरआमालाई बदला लिन उनलाई अमर बनाउन सञ्जिवनी बुटी खोज्न हिडेको कथा प्रस्तुत गर्नेछ । पोखरेलले फिल्मको बजेट साढे तीन करोड रहेको बताएका छन् ।

Leave a Reply