‘दि एक्स ब्याण्ड’को जोश,समर्पण,योगदान र प्रेरणादायक २८ वर्षे यात्रा

नेपालकै पुरानो र सबैभन्दा लोकप्रिय ‘रक’ ब्याण्ड मध्येको एक हो,‘दि एक्स ब्याण्ड’ । आज अगस्त १३ मा ‘दि एक्स ब्याण्ड’ ले आफ्नो २८औं वार्षिकोत्सव मनाउँदैछ ।

सन् १९९२ मा ‘दि एक्स ब्याण्ड’ ग्यारेज ब्यान्डको रुपमा सुरु भएको थियो र औपचारिक रूपमा सन् १९९३ मा स्थापित भएको थियो । ‘दि एक्स ब्याण्ड’ ले रक, ब्यालेड, दक्षिणी रक र लोक-रकलाई फ्युजन गर्दै आएको छ । ब्याण्डमा भोकल र बेस गिटारमा शिव मुखिया, ड्रम्समा सुरेन्द्र श्रेष्ठ तथा गिटारमा सजल राजभण्डारी रहेका छन् ।

‘दि एक्स ब्याण्ड’को पहिलो एल्वम ‘धुँवा’ हो तर त्यो एल्वम दर्शकहरुले खासै रुचाएनन् । त्यसपछि सन् १९९५मा जब ब्याण्ड आफ्नो दोस्रो एल्वम ‘फर्केर हेर्दा’ लिएर आयो, ब्याण्डले नयाँ मोड लियो । यहि सालमा गिटारिस्ट शरद श्रेष्ठको ब्याण्डमा प्रवेश भएको थियो र रमेश ज्ञवाली (अघिल्लो सदस्य मध्ये एक)ले ब्याण्ड छाडेका थिए ।

त्यस बेला देखि एक पछि अर्को हिट गीत दिंदै ‘दि एक्स ब्याण्ड’ले संगीतलाई माया गर्ने हरेक व्यक्तिमा चिरस्थायी छाप सिर्जना गर्न सक्षम भएको छ । त्यसपछि ब्याण्ड लोकप्रियताको नयाँ उचाइमा पुग्यो र ब्याण्डलाई सामाजिक मान्यता पनि प्राप्त भयो । यद्यपि केहि व्यक्तिगत कारणले गिटारिस्ट शरद श्रेष्ठले ब्याण्डमा निरन्तरता दिन सकेनन् र सन् २०११मा सजल राजभण्डारीको ब्याण्डमा प्रवेश भयो । त्यसपछि ब्याण्डले पछाडी फर्केर हेर्नु परेन ।

चिया बारीमा, म आउदैछु, दिन मात्रै,तिम्रो नजरले, लाली गुराँस, धेरै धेरै, १६ वर्ष, लाहुरे दाइ, पर्देशी मान्छे, ठाडो जाने उकालो आदि ‘दि एक्स ब्याण्ड’का केहि प्रख्यात गीतहरु हुन् । दुर्भाग्यवश ब्याण्डको ‘सिमाना’ गीत (सिमाना अतिक्रमणको मुद्दामा आधारित रहेर बनेको गीत) नेपाल सरकारले प्रतिबन्धित गरेको थियो ।

२८औं वार्षिकोत्सवको अवसरमा ‘दि एक्स ब्याण्ड’ले उहाँहरु आफ्नो दर्शकश्रोताको न्यानो माया अनि साथको सधै प्यासी रहने बताएका छन् र हृदयदेखि सबैलाई धेरै धेरै धन्यवाद दिएका छन् । साथमा सबैको हौसला अझै चाहिने पनि बताएका छन् ।‘दि एक्स ब्याण्ड’ २८ वर्षमा प्रवेश गरेको यो विशेष अवसरमा, सम्पूर्ण कोरीबाटी टिमको तर्फबाट ‘दि एक्स ब्याण्ड’लाई हार्दिक बधाई । नेपाली सांगीतिक क्षेत्रमा ‘दि एक्स ब्याण्ड’को जोश, समर्पण र योगदान साँच्चै प्रेरणादायक रहेको छ ।

Leave a Reply