मरिष्का पोखरेल अभिनित बलिउड चलचित्र ‘यारा’को टिजर सार्वजनिक(भिडियो)

नेपाली अभिनेत्री मरिश्का पोखरेलले अभिनय गरेको बलिउडचलचित्र ‘यारा’को टिजर सार्वजनिक भएको छ । नेपालमा समेत छायाङ्कन गरिएको चलचित्रको टिजरमा मरिष्कालाई एक सेकेन्ड मात्र स्थान दिइएको छ । टिजरमा उनी क्लबमा देखिएकी छिन् । सार्वजनिक टिजरमा नेपालको केही दृश्य पनि समावेश गरिएको छ । १ मिनेट ३६ सेकेन्डको टिजरमा भक्तपुर दरबार स्क्वायर आसपासका केही दृश्य देख्न सकिन्छ । ‘यारा’ नेपाल र उत्तर प्रदेशमा खिचिएको हो । आफू फिचर्ड चलचित्रको टिजर रिलिज भएपछि र आफूलाई पनि यसमा स्थान दिइएपछि मरिष्का निकै खुसी भएकी छिन् । उनले यस चलचित्रमा काम गर्ने बेला सम्झँदै सामाजिक संजाल मा स्ट्याटस समेत पोस्ट गरेकी छिन् । गएको पाँच वर्षदेखि आफू यो पलको प्रतीक्षामा रहेको बताएकी छन् । उनी भन्छिन्, ‘आमाको सहयोगले मैले फिल्मको अडिसन दिएँ र तीन दिनपछि मलाई यो भूमिकामा छानिएको भनेर फोन आएको थियो । त्यस बेला मेरो खुसीको कुनै सीमा थिएन । यो प्रोजेक्ट मेरो लागि निकै महत्त्वपूर्ण छ । म बिहानदेखि घरभन्दा बाहिर खुसीले उफ्रिरहेको छु ।’

जुलाई ३० मा जी ५ बाट ओटिटी रिलिज हुने यस चलचित्रमा बलिउडका एक्सन स्टार विद्युत् जामवालको प्रमुख भूमिका रहेको छ । साथमा श्रुति हसन, अमित साध र विजय वर्माको पनि प्रमुख भूमिका रहेको छ । एक्सन प्रधान चलचित्रले मित्रताको कथा भन्छ । यो सन् २०११ मा बनेको फ्रेन्च क्राइम ड्रामा ‘लियो लियोने’को हिन्दी रिमेक हो ।

Leave a Reply