पल, दयाहाङ र वर्षाको ‘२ नम्बरी’को छायाङ्कन फागुनअघि नहुने

चलचित्र ‘छ माया छपक्कै’ का निर्देशक दिपेन्द्र लामाको लेखन तथा निर्देशनमा निर्माण हुने चलचित्र ‘२ नम्बरी’को छायाँकन चलिरहेको समयमा सरकारले लकडाउन गरेपछि काम रोकिएको थियो । करिब ३० प्रतिशत छायाङ्कन सकेको चलचित्रको काम रोकिएको ४ महिना बित्न लागिसकेको छ । महामारी सामान्य हुन कति समय लाग्ने हो टुङ्गो नभए पछि केही चलचित्रले आफ्नो सेड्युल नै पछि सारेका छन् । यस्तैमा चलचित्र ‘२ नम्बरी’ निर्माण पक्षले फागुन अगाडि चलचित्रको काम सुरु नगर्ने निर्णय लिएको छ । चलचित्र छायाङ्कनको लागी उचित दृश्य फागुन अगाडि नपाइने भएपछि निर्माण पक्षले यो निर्णय लिएको हो ।

चलचित्रमा दयाहाङ राई, उगेन छोदेन (भुटानी अभिनेत्री), पल शाह, वर्षा राउत, बुद्धि तामाङलगायतका कलाकारहरुको अभिनय रहनेछ । एउटा सुन्दर गाउँका २ जना साथी, उनीहरुको मित्रता र दुश्मनीको कथामा बन्ने चलचित्र ‘२ नम्बरी’ले समाजमा हुने गरेका २ नम्बरी कामलाई पनि उठान गर्नेछ । रेड बर्ड प्रोडक्शन र आरआर फिल्म प्रोडक्शनको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रमा कार्यकारी निर्माताको रुपमा रत्न श्रेष्ठ छन् । किरण नेपालीको प्रस्तुतिमा तयार हुन लागेको चलचित्रमा रोहित कट्टेल र सरोज नेपाली निर्माताको रुपमा छन् भने अमलादेवी राई सह–निर्माताको रुपमा छन् । चलचित्रमा सुशन प्रजापतिको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी रहनेछ ।

Leave a Reply