दिपकराज गिरी नेपाली बक्स अफिसका ‘राजा’

२०७१ सालको कुरा हो, कोहिनूर फिल्म हलमा लागेको थियो । यो श्रीकृष्ण श्रेष्ठको अन्तिम फिल्म थियो । पहिलो दिन फिल्मले औसत व्यापार गर्यो तर दोस्रो दिन देखि कमाइ उकालियो र नेपाली फिल्मको कमाइले नयाँ रेकर्ड छोयो । धेरैलाई लाग्यो, यो रेकर्ड तोड्न नेपाली फिल्मले धेरै समय पर्खिनु पर्छ । नेपाली फिल्म बुझेका पत्रकार, फिल्म विश्लेषक, हलवाला, वितरक र धेरै दर्शकका भनाइ पनि यस्तै हुन्थे ।

र, यो ठिक जस्तो पनि लाग्थ्यो किनभने मल्टिप्लेक्समा नेपाली फिल्म धेरै लाग्दैनन् थियो भने सिंगल स्क्रिनमा राजेश हमाल, विराज भट्ट, निखिल उप्रेति, रेखा थापाहरुको फिल्म चल्थ्यो र ति फिल्मबाट नै नयाँ रेकर्ड बन्न सम्भव देखिदैन थियो । मल्टिप्लेक्समा केहि नेपाली सिनेमाहरु मात्रै सिमित हुन्थे । जस्तै : लुट, चपली हाइट, कबड्डी, पशुपति प्रसाद, टलकजंग भर्सेज टुल्के बाहेक अरु फिल्मले मल्टिप्लेक्समा मौका पाएका थिएनन् । जतिले पाए तिनले पनि एकदमै थौरै शो मात्र पाउँथे ।

२०६८ सालमा लुट एकदमै हिट भएको थियो । त्यसले सम्पुर्ण नेपाली फिल्मलाई नै नयाँ बाटोतिर डोहोर्यायो । बक्स अफिस, फिल्म क्षेत्र र बाहिर पनि सफल लुट जतिको फिल्म सायदै बने तर त्यति धेरै चल्दा पनि सो फिल्मले करिब ६ करोडको व्यापार गर्यो । त्यो समयमा राजेश हमालको फिल्मी करिअर अन्तिम बिन्दुमा पुगेको थियो । त्यस्तै अवस्था रेखा थापाको पनि थियो । विराज भट्ट र निखिल उप्रेति नेपाली फिल्म छोडेर भोजपुरी फिल्ममा गइसकेका थिए । त्यो बेलामा आएका चपली हाइट, २०६९ मा आएको सायद, छड्केले पनि सुरुको केहि दिन बम्पर व्यापार गरेका थिए । रिदम, २०७० मा

होस्टेल, नाइँ नभन्नु ल २, छ एकान छ, काली आदि फिल्मले पनि राम्रो व्यापार गरेका थिए । २०७१ मा कबड्डी, हिम्मतवाली, जेरी, नाइ नभन्नु ल ३ आदिले पनि राम्रो व्यापार गरेका थिए । २०७२ सालको महाभुकम्पकै बर्ष आएका रेसम फिलिली, होस्टेल रिटर्न्स, भैरब, वडा नम्बर छ, परदेशी, कबड्डी कबड्डी, ड्रिम्स, नाइ नभन्नु ल ४ जस्ता फिल्महरुले पनि दर्शकलाई हलसम्म ल्याएका थिए ।

यी मध्येमा परदेशीले सिंगल स्क्रिनमा ऐतिहासिक व्यापार गर्दा कबड्डी कबड्डीले मल्टिप्लेक्समा त्यस्तै ऐतिहासिक व्यापार गरेको थियो भने ड्रिम्सले सबै ठाउँमा आक्रामक व्यापार गरेको थियो तर कुनै पनि फिल्मले त्यो बिचमा ६ करोड भन्दा माथिको व्यापार गर्न सकेनन् । २०७३ सालका फिल्महरु गाजलु, कालोपोथी र बिरबिक्रमले पनि निक्कै राम्रो व्यापार गरे तर कसैले पनि ६ करोडको व्यापार नघाउन सकेनन् ।

२०७३ भदौमा छक्का पञ्जा फिल्म हलमा आयो । यो दिपक दीपा टिमको तेस्रो फिल्म थियो । २०७० मा छ एकान छ बनाएको यो समुहले २०७२ सालमा वडा नम्बर ६ बनाएको थियो । यो टिमको विशेषता के थियो भने जुन बेला ६ एकान ६ फिल्म आएको थियो, त्यो बेला दिपक दीपाले तितो सत्य, माग्ने बुढा र धुर्मुसहरु मेरी बास्सै र जितु नेपाल, राजारामहरु जिरे खुर्सानी मार्फत एकआपसमा टेलिभिजनमा प्रतिस्प्रर्धा गर्दै थिए तर फिल्ममा भने ति सबैको सहकार्य थियो । यो सहकार्य हुँदाहुँदै पनि फिल्म बनाउने र रिलिज हुँदा पनि जोकरहरुको फिल्म भनेर उनीहरुमाथि व्यंग्य चलिरहेको थियो तर ति सबै कुरा हुँदाहुँदै पनि उनीहरुको टिमले बनाएको दुइटै फिल्म हिट भएका थिए ।

तर, तेस्रो फिल्मले चमत्कार गर्यो । छक्का पञ्जाको पहिलो दिनको व्यापार राम्रै थियो । त्यस पछि विस्तारै फिल्ममा दर्शकहरु ओइरिन थाले । सिंगल स्क्रिनमा मात्रै होइन, नेपाली फिल्म मुस्किलले पाउने मल्टिप्लेक्समा पनि फिल्मले धेरै पर्दा पाउन थाल्यो । यो फिल्मले सिभिल मलमा मात्रै २ करोड भन्दा माथिको व्यापार गर्न सफल भएको थियो । काठमाण्डौका अन्य मल्टिप्लेक्स र बाहिरका मल्टिप्लेक्समा पनि यसले नेपाली फील्मका लगभग सबै रेकर्डतोड व्यापार गर्न सफल भयो । कसैले कल्पना नगरेको कोहिनुरको रेकर्ड तोड्ने कुरा यसले पुरा गर्यो, त्यो पनि निकै ठुलो अन्तरमा । ६ करोडको अन्तरमा । फिल्मले १६ करोडको व्यापार गर्यो । काठमाण्डौँको ७ वटा मल्टिप्लेक्समा ५१ दिन मनायो भने एउटामा १०० दिन पुरा गर्यो । कुनै पनि मल्टिप्लेक्समा कुनै पनि नेपाली फिल्मले ५१ दिन र १००औँ दिन पुरा गर्ने पहिलो फिल्म बन्यो छक्का पञ्जा । दशैँ भन्दा एक महिना पहिले हलमा आएको फिल्म दशै र तिहार भरमात्रै चलेन कि तिहार पछिको एक महिना पछिसम्म नि चल्यो ।

२०७४ सालमा दिपक दीपाको टिमको छक्कापञ्जा २ रिलिज भयो । दशैँको फूलपातीको दिन ओपनिङ यस्तो भयो कि सुरुको १० दिनमा नै करिब १२ करोडको व्यापार गर्न सफल भयो फिल्म । यसले एकदिनमा एक करोडको व्यापार गर्यो । त्यस्तै सुरुका ९ दिन हरेक दिन एक करोडको आम्दानीको आँकडा छोएको थियो । नेपाली फिल्मको यो सफलता अपुर्व थियो ।

केहि अगाडी चलेर दशैँसम्म पुग्न सकेको छक्का पञ्जा र दशैँमा नै चलेको छक्का पञ्जा २ पनि हिट भयो । यसले भारतमा सलमान खानको इद, अमिर खानको क्रिसमस भने जस्तै दिपकराज गिरीको दशैँ भन्ने स्थापित हुन पुग्यो । महसंचारसँग आवद्ध भएर दिपकराज गिरीले शत्रूगते फिल्म खेले २०७४ सालमा । एसएलसीको समय जति बेला एकदिन पनि सार्वजनिक बिदा थिएन, त्यो बेला पनि सो फिल्मले १२ करोड माथिको व्यापार गर्यो ।

२०७५ सालमा दिपक दीपाको त्यहि टिमले घटस्थापनामा फिल्म रिलिज गर्यो, छक्का पञ्जा ३ । फिल्म क्षेत्रमा पहिले त्यो समयमा हत्तपती फिल्म रिलिज गरिदैन थियो । धेरैको सोचाइ हुन्थ्यो कि त्यो बेला मानिसहरु किनमेलमा व्यस्त हुन्छन् र काठमाण्डौबाट ठुलो संख्यामा मानिसहरु गाउँ फर्किन्छन् । तर जब फिल्म हलमा आयो, त्यसलाई कुनै पनि कुराले रोक्न सकेन । यसले २० करोडको व्यापार गर्यो । नेपाली फिल्मका लागि २० करोड आम्दानी पनि वास्तविकता हुन सक्छ भनेर यहि फिल्मले उदाहरण बनाइदियो ।

यसपछि दशैँमा काठमाण्डौ शुन्य भएर फिल्म चल्दैन भन्ने सोचाइ नै परिवर्तन भयो र सबै निर्माताहरुको फिल्म रिलिजको मुख्य समय नै यहि बेला बन्न पुग्यो । योसँगै दिपकराज गिरीको दशैँ भन्ने सोचाइ झन् जब्बर बन्न पुग्यो । अवस्था यस्तो पनि कि २०७६ सालमा छ माया छपक्कै आउदासम्म दिपकराजकै फिल्मका लागि समय मिलाउन नसकेर फिल्म दशैँ पछाडी लगाउन बाध्य भए तर फिल्मलाई सो मितिले पनि खासै असर गरेन । २०७६ सालको सबै भन्दा धेरै व्यापार गर्ने फिल्म नै यहि बन्यो । यसबाट प्रमाणित भयो कि दिपकराज गिरीको फिल्म चल्न दशैँ चाहिदैन, बरु जुन बेला उनको फिल्म आउँछ, त्यहि दशैँ हुन्छ ।

छक्का पञ्जा देखि छ माया छपक्कै सम्म आइपुग्दा २०७३ भदौ देखि २०७६ अशोजसम्म २६३ फिल्म रिलिज भएका थिए । ति सबै फिल्महरुको कुल व्यापार २१० करोडको आसपासमा थियो । त्यहि बेला अनमोल केसीको क्याप्टेन, कृ, ए मेरो हजुर ३ अनि प्रदिप खड्काको लभ स्टेशन, प्रेमगीत २, लिलिबिली, रोज पनि आएका थिए । रामबाबु गुरुङको पुरानो डुंगा, साइली, मिस्टर झोले, कबड्डी कबड्डी कबड्डी, निश्चल बस्नेतको लुट २, असिम शाहको दुई रुपैया, प्रदीप भट्टराई जात्रा, जात्रै जात्रा, साम्राज्ञीको ए मेरो हजुर २, इन्टु मिन्टु लण्डनमा, सुदर्शन थापाको म यस्तो गीत गाउँछु, रामकहानी, विकाश आचार्यको नाइ नभन्नु ल ५, अशोक शर्माको जय भोले जस्तो हिट फिल्महरु पनि रिलिज भएका थिए ।

त्यसमध्ये ७५ करोड दिपकराज गिरीको फिल्महरुले मात्रै व्यापार गरेका हुन् । त्यो भनेको त्यसबेलाका नेपाली फिल्मले गरेका प्रत्येक १०० रुपैयाँको व्यापारमा दिपकराज गिरिको फिल्मको योगदान ३५ रुपैया थियो । २६३ फिल्ममा ५ फिल्मले यति धेरै योगदान गरेको संसारमै विरलै हुने कुरा हो ।

यसैले भन्न सकिन्छ, जोकरका रुपमा नेपाली फिल्ममा उदाएका दिपकराज गिरी अहिले नेपाली बक्स अफिसमा ‘राजा’हुन् ।

This Post Has One Comment

  1. Kamal

    Alik badi guff vo … kamayako paisa ma… huna ta movie industry guff le nai chalcha

Leave a Reply