उत्कृष्ट १२ नेपाली चलचित्र जुन हेर्न लायक छन्

कोरोना भाइरस (कोभिड १९) का कारण गएको तीन महिनादेखि चलचित्र निर्माण, प्रदर्शनदेखि सिनेमा हलसम्म सम्पूर्ण बन्द छन् । तीन चरणमा लकडाउन खोल्ने योजनासहित सरकारले गएको दुई हप्ता अघिदेखि लकडाउनको नीति अपनाएको छ । लकडाउन, लुजडाउनमा परिणत भएपछि विभिन्न २१ वटा क्षेत्र पुनः सञ्चालनमा आएका छन् । तर, भीडभाड हुने क्षेत्र भएकाले लकडाउनको अन्तिम चरणमा मात्र मनोरञ्जन क्षेत्र खोल्ने सरकारको तयारी छ । लुजडाउन भनेपनि धेरे आम सर्वसाधारणको दैनिकी अहिले पनि घरभित्रै वितिरहेको छ ।

घरभित्रै नजरबन्द हुनुपर्दा वाक्कदिक्क भएका बेला दर्शकलाई घरमै बसेर मनोरञ्जन दिनको लागी धेरै नयाँ चलचित्रहरु पनि छिट्टै युट्युबमा सार्वजनिक भएका छन् । त्यसैक्रममा समयलाई सदुपयोग गर्दै नेपाली फिल्म रुचाउने दर्शकले ती चलचित्र हेरे होला तर अझ पनि धेरै राम्रा चलचित्र हेर्न दर्शकले छुट्टाएका हुन सक्छ । लकडाउनको समय काट्ने राम्रो बहानाका साथै नेपाली चलचित्रमा भएको विकास र प्रतिभालाई नजिकबाट चिन्न र नेपाली चलचित्र प्रेमीले छुट्टाउन नहुने यी दर्जनौ चलचित्र हुन सक्छ।

१.बलिदान:- नेपालको राजनीतिक र सामाजिक जीवनमा २०४६ सालको आन्दोलनको विशेष महत्व छ। तीस वर्ष लामो एकदलीय पञ्चायती व्यवस्था परिवर्तनका लागि हजारौं नेपालीले बलिदान दिएका थिए। देश र प्रजातन्त्रका लागि ज्यानको बाजी थाप्नेहरुको कथा हो,चलचित्र ‘बलिदान’।

मोदनाथ प्रश्रितको कथा र राल्फाली रामेशको संगीतमा रचिएका राजनीतिक चेतनाले भरिएका गीतहरू भएको बलिदान तुलसी घिमिरेको निर्देशनमा बनेको चलचित्र हो। यसमा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, अञ्जना श्रेष्ठ, नीर शाह आदिको मुख्य भूमिका छ।

२.लुट:- सौगात मल्ल, दयाहाङ राई, कर्मा, ऋचा शर्मालगायत मल्टिस्टार ‘लुट’ले नेपाली चलचित्रमा सुकेको बजार मात्रै उकासेन, चलचित्रको ट्रेन्ड नै बदलिदियो। लुट युवा पुस्ताको नयाँ सोचको प्रतिनिधि चलचित्र बन्न पुग्यो।लुटको कथा हाकु कालेको बैंक लुट्ने मास्टरप्लान पूरा गर्ने प्रयाससँगै अघि बढ्छ। सौगात मल्लले निर्वाह गरेको हाकु कालेको भूमिका नेपाली चलचित्रको सर्वकालीन यादगार पात्र हो। निर्देशक निश्चल बस्नेतको यो चलचित्रले बेरोजगार सहरी युवा र पैसा कमाउने दबाबमा उनीहरूले अपनाउने आपराधिक गतिविधिको कथा भन्छ। कथाभन्दा प्रस्तुतिका कारण रुचाइएको लुटको पटकथा, संवाद र अभिनयका कारण प्रशंसा कमाएको चलचित्र हो। यसमा काठमाडौंका गल्लीदेखि भट्टीसम्मका दृश्यलाई सुन्दर ढंगले खिचिएको छ।

३.झोला:- कृष्ण धरावासीको कथामा आधारित चलचित्र हो ,‘झोला’। चलचित्रले वर्तमान दर्शकलाई समसामयिक विषयमा सोझै सन्देश दिएको छैन । बरु संवेदना जगाएको छ । समाजको विकासक्रम सम्झाएको छ । हाम्रो निकट अतितका महिलाप्रति विभेदकारी सामाजिक संरचना र अन्धविश्वासका सम्बन्धले रुमल्लिएको एउटा आम गाउँ र एउटा आम परिवार यस कथाका यथार्थ हुन् । आफुभन्दा धेरै कम उमेरकी कान्छी श्रीमती भित्र्याएर बुढेसकालको सहारा खोज्ने त्यो परिवारको मुली बितेपछिको सती जाने दृश्यहरु आँखाभन्दा सोझै हृदयमा प्रवेश गर्ने स्तरका छन् । चलचित्रमा गरिमा पन्त ,दीपक छेत्री ,सुजल नेपाल ,लक्ष्मी गिरि लगायतको अभिनय रहेको छ ।

४.साँघुरो:- जोयस पाण्डेले निर्देशन गरेको चलचित्र ‘साँघुरो’मा शुशांक मैनाली, दिया मास्के, अरुणा कार्की र दयाहाङ राईको मुख्य भूमिका रहेको छ । सुकुम्बासी बस्तीको गरिब दम्पत्तीले भोग्नुपरेको समस्या नै चलचित्रको मुख्य विषयवस्तु हो। यौन मनोविज्ञानमा आधारित साँघुरोमा सहरी गरिब परिवारको कथा छ। सुकुम्बासी बस्तीको एउटा छाप्रोभित्र दुःखसुख जिन्दगी कटाइरहेका आमा र छोरा छन्। हकर काम गर्ने कृष्ण र उनले पत्रिका पुर्याउन जाने एक जना ग्राहकको घरमा काम गर्ने कमलाबीच प्रेम बसेपछि बिहे हुन्छ। बिहेपछि शारीरिक सम्बन्ध राख्न उनीहरूका लागि परिस्थिति अनुकूल हुँदैन। कृष्णकी आमा र यो जोडी बस्ने कोठा एउटै छ। उनीहरूका लागि आमाको उपस्थिति बाधक बन्दै जान्छ र कथाले नयाँ मोड लिन्छ। सानो कथा सानै परिवेश, मानवीय कुण्ठा र मनोविज्ञानको सूक्ष्म चित्रण साँघुरोको सबल पक्ष हो। चलचित्रका लेखक विनोद पौडेल हुन्। साँघुरोलाई नेपाली सिनेमाको दायरा फराकिलो बनाउने फिल्म मानिन्छ।

५.टलकजंग भर्सेस टुल्के:- विश्वप्रसिद्ध चिनियाँ लेखक लु शुनको ‘आह क्यूको साँचो कथा’ लाई आधार बनाएर नेपालीमा अनुप बरालको निर्देशनमा ‘टलकजंग भर्सेस टुल्के’ नाटक मञ्चन भएको थियो। त्यही नाटकलाई पछि निश्चल बस्नेतले निर्देशन गरे। टुल्केको भूमिका खगेन्द्र लामिछानेले निर्वाह गरेको यो चलचित्रमा रवीन्द्रसिंह बानियाँ, ऋचा शर्मा र दयाहाङ राईको मुख्य अभिनय छ। यसको कथा वर्गसंघर्ष र माओवादी आन्दोलनको सेरोफेरोमा बुनिएको छ। शोषण, जालझेल, प्रतिशोध र विद्रोहका तहहरु पत्रपत्रमा खुल्ने यो चलचित्र आत्मसम्मान चाहने युवाको कथा हो।

६.कबड्डी:-त्रिकोणात्मक प्रेम कथा ‘कबड्डी’ मुस्ताङको सुन्दर परिवेशमा खिचिएको छ। मैंया (रिश्मा गुरूङ) लाई फकाउन काजी (दयाहाङ राई) र विवेक (सौगात मल्ल)बीच हुने हानथाप नै चलचित्रको रमाइलो पक्ष हो। चलचित्रको कथाले मुस्ताङको परिवेशसँगै थकाली परम्परा र स्थानीय राजनीतिलाई समेत जोड्दै लान्छ। मुख्यपात्र बाहेक कबड्डीमा विजय बराल, बुद्धि तामाङजस्ता कलाकारको उपस्थितिले पनि चलचित्रलाई रोचक बनाएको छ।

७.पशुपतिप्रसाद:- दीपेन्द्र के खनालको निर्देशन र खगेन्द्र लामिछानेको मुख्य अभिनयको ‘पशुपतिप्रसाद’ धेरैले रुचाएको चलचित्र हो। गाउँबाट सहर पसेर हराउने युवा सपनाको कथालाई मौलिक र जीवन्त रूपमा देखाइएको पशुपतिप्रसाद नामजस्तै पशुपतिनाथ मन्दिर परिवेशमा खिचिएको चलचित्र हो। पशुपति क्षेत्रलाई दृश्यमा उतार्ने काम मात्र नगरेर त्यहाँको घाटे, जोगी, वृद्धवृद्धादेखि तस्करीसम्मका विषयलाई चलचित्रको कथामा जोडिएको छ। भुइँचालोमा धेरैले धेरै कुरा गुमाए। पशुपतिप्रसाद भुइँचालोमा घर र आमाबा गुमाएर गाउँबाट काठमाडौं आएको पात्र हो। साहुको ऋणको भारी बोकेको पशुपतिप्रसाद आर्यघाटमा लास जलाएर बचेको मुढा ओसार्ने कामदेखि ठेलामा समोसा बेच्ने कामसम्म गर्न तयार छ। तर उसको दुःख घट्दैन। बढ्दै बढ्दै एउटा उत्कर्षमा पुगेर चुँडिन्छ। मुख्यपात्रसँगै यसका हनुमानजी र विपिन कार्कीको भस्मे पात्र उत्तिकै चर्चित छन्।

८.प्रेमगीत:- नेपालसँगै दर्जनबढि देशमा प्रदर्शन आएको सुदर्शन थापा निर्देशित प्रेमकथामा आधारित चलचित्र ‘प्रेमगीत’ले सांगितिक रुपमा छुट्टै छाप छोडेको थियो । चलचित्रमा प्रेम र गीतको प्रेम, रोमान्स र पारिवारिक अवरोधलाई देखाइएको छ । सन्तोष सेनको निर्माणमा बनेको चलचित्रबाट अभिनेता प्रदिप खड्का नेपाली चलचित्र उद्योगको लागी उदाउँदो नक्षत्रको रुपमा उदाएका थिए । भने अभिनेत्री पूजा शर्माले पनि कामबाट राम्रै प्रशंसा पाईन् । प्रदिपको प्रेम र पूजाले निर्वाह गरेकी गीतको पात्र उत्तिकै चर्चित छन् र यी दुईको प्रेमिल जोडीको अनस्कृन रोमान्स दर्शकले राम्रै रुचाएका छन् । चलचित्र प्रेमगीत युट्युबमा २ करोड भ्युज पाउने नेपालकै पहिलो चलचित्र पनि हो ।

९.कालोपोथी:- मीनबहादुर भाम निर्देशित चलचित्र ‘कालोपोथी’मा शसस्त्र युद्धमा संकटकाल लागेको अवस्थामा मुगुका सर्वसाधारणले भोगेको जीवनशैलि पेश गरेको छ । चलचित्रमा दुई बालकको मुख्य भुमिका रहेको छ । दुई मध्ये एक ब्राम्हण र अर्कोले दलित दलित परिवारका हुन्छन् । दुईको जात नमिले पनि विचार समान हुन्छ र उनीहरुको मित्रता टुट्दैन । दुबैको सपना समान हुन्छ र सपना पुरा गर्नकै लागि कालोपोथी पाल्छन् । एकदिन कालोपोथी हराएपछि उनीहरुको जीबनमा अर्को संकट सुरु हुन्छ। चलचित्रमा खड्गराज नेपाली, शुक्रराज रोकाया, जीत बहादुर मल्ल, हंस खड्का, विपिन कार्की, बेनिशा हमाल लगायतको अभिनय रहेको छ ।

१०.जात्रा:- निर्देशक प्रदीप भट्टराईको निर्देशन र लेखन रहेको चलचित्र ‘जात्रा’को कथा सामान्य छ। आकस्मिक रूपमा ठूलो धनराशी भेटिएपछि पात्रहरूले पैसा पचाउन गरेको संघर्ष नै यसको कथा हो। यसमा पैसाको अभावमा बाँचिरहेका निम्न-मध्यमवर्गीय पात्रले नसोचेको पैसा पाउँदा उनीहरूको मनमा उब्जने फरक–फरक मनोदशाको चित्रण पाइन्छ। जात्रामा देखाइएको स्वाभाविक अभिनय, रमाइलो प्रस्तुति, रसिलो–चोटिलो संवादले दर्शकलाई तान्छ। काठमाडौंको पुरानो बजार असन आसपासको न्ह्योखाबहाल, इन्द्रचोक वरपरका परिवेश समेटिएकाले पात्र र दृश्यमा स्थानीय रङ भेटिन्छ।फणिन्द्रको भूमिकामा विपीन कार्कीको जीवन्त अभिनय चलचित्रको सशक्त पक्ष हो। कपाल काट्ने नाइको भूमिकामा देखिने रवीन्द्र झा र साहुजीलाई महिनौं भाडा तिर्न नसकेका पसलेको भूमिकामा रवीन्द्रसिंह बानियाँको अभिनय पनि कम छैन। चलचित्र जात्रामा वर्षा राउत, प्रेक्षा बज्राचार्य, प्रकाश घिमिरे लगायत कलाकार मुख्य भूमिकामा छन्।

११.प्रसाद:- सुशिल पौडेलको कथामा बनेको चलचित्र ‘प्रसाद’ दिनेश राउतले निर्देशन गरेका हुन् । गण्डकी प्रदेशको बागलुङ र आसपासको आञ्चलिक भाषिक लवजलाई सिनेमाका नायक नायिका बिपिन कार्की र नम्रता श्रेष्ठले उत्तिकै न्याय मात्र गरेका छैनन् पात्र अनुसारको चरित्र उत्कृष्ट ढंगले निर्वाह गरेका छन् । निसन्तान हुनु एउटी महिलाको मात्र होइन पुरुषका लागि समेत पीडाको विषय हो भन्ने कुरा आत्मसात नगरेको नेपाली समाजलाई झस्काएको छ यस चलचित्रले । चलचित्र ‘प्रसाद’ एक दम्पतिको गहिरो मनोवैत्रानिक द्वन्द्व बोकेर गतिशील हुन्छ । निश्चल बस्नेतले सफलतापूर्वक खलनायकी अवधारणाको रुप नै परिवर्तन गरिदिएका छन् ।

१२.आमा:- दीपेन्द्र के खनाल निर्देशित ‘आमा’ले नेपाली समाजको एउटा सामान्य मध्यम वर्गले भोग्ने पीडालाई सजिव रूपमा प्रस्तुत गरेको छ।। चलचित्रको कथा आमा र छोरी अर्थात मिथिला शर्मा र सुरक्षा पन्तको वरिपरी घुम्दछ । चलचित्र हेरिरहँदा दर्शकले आफूलाई चलचित्र कहिले आफ्नो प्रत्यक्ष अनुभवका रुपमा भेट्छन् भने कहिले अप्रत्यक्ष रूपमा । मिथिला शर्मा, सुरक्षा पन्त, सरिता गिरी, अशान्त शर्मा, आदिले आफ्नो पात्रलाई जीवन्त बनाएका छन्। यस्तै पर्दामा नदेखिए पनि संवादमा मात्र सुनिने अर्पण थापाको आवाजको उपस्थितिले उनको भौतिक अनुपस्थितिलाई कम हुन दिएको छैन। योसँगै सिनेमाले बदलिँदै गएको नेपाली समाजमा छोरी, आमा, श्रीमतीका भूमिकाहरू पुरुषहरूको अनुपस्थितिमा परिवर्तन हुँदैछ र विपरीत परिस्थितिमा लड्न उनीहरू कसरी तयार हुँदैछन् र हुनुपर्छ भन्ने देखाएको छ।

This Post Has One Comment

  1. Kamal

    Hami tin bhai,Deuta,basanti kina vayanan

Leave a Reply