अजय देवगनको ‘मैदान’ सन् २०२१ मा प्रदर्शन हुने

कोरोना भाइरसको महामारीका कारण बलिउडका कयौं ठूला चलचित्रहरू अनलाइन प्लेटफर्ममा रिलिज हुँदै छन् । केही रिलिज हुने तयारीमा छन् । संक्रमण फैलिने डरका कारण हल नखुलेपछि चलचित्रहरू डिजिटल माध्यमबाट रिलिज हुन थालेको हो । तर, अभिनेता अजय देवगनको चलचित्र ‘मैदान’ हलबाट नै रिलिज हुने भएको छ । ‘मैदान’को प्रदर्शन मिति पनि सार्वजनिक गरिएको छ । ३५ प्रतिशत छायाङ्कन बाँकी हुँदा नै चलचित्रको प्रदर्शन मिति तय गरिएको हो ।

कोरोना भाइरसको प्रभावले छायाङ्कन लगायत काम रोकिएको चलचित्र आउँदो वर्ष सन् २०२१ को अगस्ट १३ मा प्रदर्शन हुने बताइएको छ । यसबारे अभिनेता अजयले ट्विटर मार्फत जानकारी दिएका हुन् । देवगन लेख्छन्, ‘२०२१ स्वतन्त्रता दिवसको हप्ता । अहिलेसम्म नसुनेको कहानी, जुन सबै भारतीयलाई गर्व महसुस हुनेछ । १३ अगस्ट मार्क गर्नुहोस् ।’ सन् १९५० देखि १९६३ सम्म इन्डियन नेशनल फुटबल टिमका कोच सैय्यद अब्दुल रहीमको जीवनमा आधारित भएर निर्माण भएको चलचित्रमा रहीमको भूमिका अजयले निर्वाह गरेका हुन् । चलचित्रको निर्देशन नेशनल अवार्ड विजेता अमित रविंद्रनाथ शर्माले गरिरहेका छन् ।

Leave a Reply