प्रियंका कार्कीको इन्स्टाग्राममा एक मिलियन फलोअर्स

कलाकारको लोकप्रियताको मापन सामाजिक सञ्जालमा उनीहरूलाई पछ्याउनेको संख्या र हलमा उनीहरूको चलचित्रलाई पछ्याउने दर्शकको भिडको आधारमा गर्न सकिन्छ । हुन त सामाजिक सञ्जालमा गज्जबको फलोअर्स कमाएका कलाकारका चलचित्रले पनि हलमा पानी माग्न पाएका छैनन् । तर, सामाजिक सञ्जाल कलाकारको फ्यानसँग जोडिने दरिलो माध्यम भने बनेको छ । सामाजिक सञ्जाल इन्स्टाग्राममा नेपाली कलाकारहरू निकै सक्रिय छन्। इन्स्टाग्राममा दैनिक अभ्यस्त रहने कलाकारहरू फ्यानसँग आफ्ना कुराहरू सेयर गरिरहेका हुन्छन् । नायिका प्रियंका कार्कीको इन्स्टाग्राममा फलोअर्स एक मिलियन (दश लाख) पुगेका छन् । प्रियंका कार्की सामाजिक सञ्जाल इन्स्टाग्राममा १० लाख फलोअर्स कमाउने पहिलो नायिका बनेकी छन् । उनले भने ८६५ जनालाई मात्र फलो गरेकी छिन् । प्रियंकाले सबैको मायाको लागि धन्यवाद दिएकी छिन् । सामाजिक सञ्जालमा प्रियंका आफ्नो दैनिक क्रियाकलाप, चलचित्रको प्रचार र आफूलाई मन परेका कुरा सेयर गर्छिन् । इन्स्टाग्राममा सर्वाधिक फलोअर्स कमाएका थोरै नायिकाहरूको सूचीमा प्रियंका अंग्रपङ्क्तिमा छिन् ।

नायिका प्रियंका कार्कीले सन् २०१२ मा रिलिज भएको चलचित्र ‘थ्रि लभर्स’बाट नेपाली चलचित्र क्षेत्रमा डेब्यु गरेकी थिइन् । व्यापारिक रुपमा सफल हुन नसकेको यो चलचित्रले प्रियंकालाई भने सफलताको बाटो कोरिदियो । प्रियंकाले त्यसपश्चात् चलचित्रमा निरन्तर काम पाइरहिन् । तर, उनले अभिनय गरेका ५ वटा चलचित्र लगतार असफल भए । ‘कलिउड, भिजिलान्ते, कर्कश, नेपथ्य’ले उनलाई असफलताको झट्का दियो । तर, असफलताले प्रियंकालाई असर गरेन । चलचित्र ‘झोले’ले प्रियंकालाई करोड क्लवकी नायिका बनाइदियो । त्यस लगत्तै उनी अभिनित चलचित्र ‘नाई नभन्नु ल २’ले पनि राम्रै सफलता पायो । दुई चलचित्रको सफलतासँगै उनको व्यस्तता ह्वातै बढ्यो । चलचित्र क्षेत्रमा रेखा थापाको जस्तो स्टारडम कुनै नायिकाले बनाउन नसकिरहेको समयमा प्रियंकाको प्रवेशले उक्त कुरालाई तोडिदियो । प्रियंकाको संघर्षले दर्शक उनको पोल्टामा परे । रेखाको दबदबा रहेको चलचित्र क्षेत्रमा प्रियंका खरो उत्रिइन् । प्रियंकाले अफर आएका चलचित्रहरु लगतार काम गर्दै गइन् । उनी अभिनित चलचित्रहरु सफल पनि भइरहेका थिए । निर्माता–निर्देशक पनि उनलाई चलचित्रमा लिन महिनौ कुर्न तयार थिए । उनको सफलता र व्यस्ततालाई हेरेर प्रियंकालाई नेपालको नम्बर एक नायिकाको उपमा पनि दिइयो । नायिका कार्कीले ५० भन्दा बढी चलचित्रमा र सयौ म्युजिक भिडियोमा काम गरेकी छिन् ।

Leave a Reply