फरक पहिचान बनाएका लोकगायक प्रकाश

एउटा खाट, अनि सोफा । केहि खाली रक्सीका बोत्तल अनि एस्ट्रेमा ठोसिएर बसेका चुरोटका ठुटाहरु । झोका बनाइएर झुण्ड्याइएका केहि जोर कपडा । कोरिबाटी टोली कोठाको ढोकाबाट भित्र प्रवेश गर्ने बित्तिकै अहिलेका चर्चित लोक गायक प्रकाश दुतराजतिर हेरेर प्रश्न गर्यो, केटाहरुको कोठा यस्तै हुन्छ है । उनले अत्तालिँदै भने, हैन हैन, यो कोठा मेरो हैन, स्टुडियोमै काम गर्ने अर्को साथीको हो ।

लजालु स्वभावका प्रकाशको अनुहारमा हाँसो कहिल्यै नटुट्ने रहेछ । उनलै प्रश्न गरे, हाम्रो गफ औपचारिक हुन्छ कि अनौपचारिक ?
रेकर्डेट भए पो औपचारिक हुन्थ्यो, यो त लेख्ने हो । यसो भन्ने बित्तिकै उनले कुराकानी सुरु गरे, तपाईँको चस्मा त कस्तो राम्रो है ।
कोठा हाँसोले भरियो । उनले पनि त झुम्का लगाएका थिए । कोरिबाटी टोलीले सोध्यो, तपाईको झुम्का पनि त कम्ती राम्रो छैन ।
त्यसपछि कुरा सुरु भयो झुम्काबाट ।
एक महिना अघि मात्रै उनले एक गीत बजारमा ल्याएका छन्, मन भुल्छ । यहि गीतको छायांकनका क्रममा उनलाई पात्र चिनाउन झुम्काको आवश्यकता पर्यो । भने, अहिलेसम्म काम गरेका महिला कलाकारहरुलाई एक ठाउँमा जम्मा पारेर गीतको भिडियो बनाएँ । कल्पनाबाट बाहिर आउन र पृथक देखिन झुक्का प्रयोगमा ल्याएको थिएँ ।
गीतमा प्रयोग गर्दागर्दै अब भने बानी परेको छ । उनले झुक्का हल्लाउँदै प्रतिप्रश्न गरे, राम्रो पनि देखिएको छु है ?
लामो स्वास तान्दै उनले कुराकानी सुरु गरे, परिवारको जेठो छोरो । जिम्मेवारीको ठुलो भारी थियो। गरिव परिवारमा जन्मेकाले पनि काम, पढाई र भाइबहिनी सबैलाई हेर्नुपर्ने थियो ।

संगितले सिञ्चित ठाउँ, म्याग्दीको बेनीमा जन्मिए उनि । घाँस दाउरा, मेलापात, पर्व महोत्सव सबैले उनको गित मनपराए ।
रेडियो, क्यासेट खुब सुनिन्थ्यो । बाल्यकालको स्मरण गर्दै उनले भने, अहिलेजस्तो धेरै एफएम स्टेसन थिएन, त्यसैले रेडियो नेपाल धेरै सुनिन्थ्यो । त्यहाँ आउने गीति कथाहरु अनि गितहरु । काम गर्नजाँदा समेत रेडियो झुण्ड्याएर लगौं जस्तो हुन्थ्यो । बिस्तारै एफएम रेडियोहरु आए । यिनै रेडियोहरुले गीत संगितमाथीको क्रेज झनै बढाए ।
गरिव परिवारमा जन्मेपछि बाध्यता हुँदोरहेछ धन कमाउने । प्रकाश भन्छन्, नौ कक्षा पढ्दादेखि काम गर्नथालें । सुरुको तलव ३५ सय थियो । साथीभाई जम्मा भएर खेल्थे म भने काममा जानुपथ्र्यो ।

एक कार्यलयमा पोछा लगाउने काम गरेका थिए प्रकाशले । उनले भने, बिहान उठ्यो, कार्यलयमा गएर ढोका खोल्ने, सोफाहरु पुछपाछ पार्ने, सफासुग्घर बनाउने । घर आएर खाना खाएर स्कुल जाने । छुट्टी भएपछि फेरि त्यहि कार्यलयमा गएर दिनभरको फोहोर सफा गर्ने ।

अहिले उनि ठुला होटलहरुमा जान्छन् । पोछा लगाइरहेका मानिसहरुलाई देख्दा टक्क अडिन्छन् र बाल्यकाल सम्झन्छन् । भन्छन्, पोछा लगाउँदा लगाउँदै केहि मानिसहरु जुत्ताको डाम बसाउँदै ओहोरदोहोर गर्थे । आफू त्यति भ्याएर कता के गरौंला भन्ने योजनामा हुन्थें उल्टै यसको कामै यहि त हो भन्दै फोहोर गरिदिन्थे । आँखा रसिलो बनाउँदै उनले भने, त्यहि भएर कसैले पोछा लगाएको देख्दा म नसुकेसम्म भित्र पस्दिन । त्यो पिडा कस्तो हुन्छ मलाई थाहा छ नि त ।

छोरा ठुलो भए बिदेश कमाउन जाने, छोरी ठुली भए बिहे गरिदिने । अधिकांश नेपालको चलन अहिले यस्तै छ । प्रकाश पनि अब ठुलो भए । धन कमाउन खाडी मुलुक उनको रहर हैन बाध्यता बन्यो । गाउँकै आफन्तले बिदेश जाने चाँजो मिलाए । केहि रकम पनि बुझाए । दुबइका लागि भिसा खस्यो, अब उड्ने भनेर रातो टिका लगाएर उनि काठमाडौं शहर आए । तर अफसोच, भिसाको कागज नक्कली रहेछ । पैसा खाएर मानिस फरार भएछन् । रातो टिका निधारमा टल्काएर धन कमाउन हिँडेका प्रकाश रनभुल्लमा परे । भन्छन्, म त घर फर्कन सक्ने अवस्थामै थिइन । जसरी हुन्छ बिदेश जानैपथ्र्यो । चिनेजानेका मानिसले फेरि भिसाका लागि प्रोसेस चाले । ६ देखि ७ महिनासम्म समय लाग्नेभयो। पेट पाल्ने जागिर खोज्दै दोहोरी साँझसम्म पुगे ।

अनुभव नै नभएपनि उनले दोहोरी साँझमा जागिर पाए । उनको पेट पाल्न परेको दुःख देखेर जागिरमा राखिएको थियो । ३५ सय दोहोरी साँझबाट तलव थापेका थिए उनले । बिस्तारै दोहोरीमा रम्दै गए प्रकाश । भन्छन्, मलाई त संगितले मोहनी लगाएछ, यसैमा फस्दै गएँ । साथी सर्कल यसैले बनायो । आफूजस्तै केहि गर्ने आँट भएका युवाहरु भेट्दै गए उनले ।
आरने गीतले उनको जिन्दगीमा प्रवेश पायो । राम्रा दर्शकहरु पाए उनले त्यो गीतबाट। आफै दलित समुदायबाट आएकाले पनि उनि आरने गीतलाई टर्निङ पोइन्ट मान्छन् ।

त्यसपछि बैनी झ्याालैमा बोलको गीतले लोकगीत प्रेमीहरुका माझ परिचित गरायो प्रकाशलाई । घर कता हो बैनीको बोलको गीतले भने लोक गीत प्रेमी मात्रै हैन, अन्यलाई पनि आकर्षित गर्यो । उनलाई धेरैले चिन्ने बनायो घर कता हो बैनीको भन्ने गितले । त्यसपछि बनेको जाम भो माइली बोलको गीतबाट उनले आफूलाई प्रमाणित गरे, नेपाली लोक संगितमा भविष्य बोकेको गायक हुन् प्रकाश दुतराज ।

मन भुल्छ गीतमा उनले फरक प्रयास गरेका छन् । उनको यहि फरकपनालाई सबैले मन पराइरहेका छन् ।
पानी जस्तै छन् प्रकाश । उनका जुन रंग घोलिदियो, त्यसैमा रंगिहाल्ने । केहिबेर घोत्लिएर भने, जसले जे भन्यो मलाई त्यो कुरा सहि हो जस्तो लाग्छ । कहिलेकाहीं खराब संगतमा पुग्छु कि भन्ने डर लाग्छ । भविष्य सम्झेर पनि बेलाबखत डराउने गर्छन् उनि । भन्छन्, चर्चामा पुगेको छु । सबैले माया गरिरहेका छन् । कुनै दिन यो माया गुमाएँ भने भन्ने डर लाग्छ । लामो सुस्केरा तान्दै भने, अहिले बाँचिरहेको जीवन सपना जस्तै छ । सपना जस्तै कुनैदिन बिलायो भने, मेरा गीत सुन्न छाडिदिए भने के गर्ने होला, केहि सोचेकै छैन ।

उनि आफै गीत लेख्छन्, आफै गाउँछन्, आफै भिडियो बनाउँछन् अनि आफ्नै युट्युव च्यानलमा राख्छन् । बाहिरका कामहरु खासै देखिदैन उनको । केहि काम भने बाहिरी सर्जकहरुसँग समेत गरेको बताउने उनि छोटो समयमा सर्वाधिक चर्चा कमाउन सफल युवा गायक हुन् ।

सफलताको शिखरमा चढ्दै गरेका प्रकाश नेपाली संगित क्षेत्रमा फरक काम गर्ने कोशिसमा छन् । अहिलेसम्म उनका नौला प्रस्तुतीहरुलाई सबैले मन पराइरहेका छन् । बिशेषगरी टिकटक प्रयोगकर्ता माझ उनका गीतहरु प्रख्यात छन् । संघर्ष गरिरहेका प्रकाशको साँगितीक यात्रा सुखद होस्, कालजयी गितहरु उनको युट्युव एकाउन्टमा अटाउन्, कोरिबाटीको धेरै शुभकामना ।

Leave a Reply