स्वस्तिमा लेख्छिन्–‘हिरोईन भएर त यति सहनुपर्छ भन्नु अपमानजनक’

नायिका स्वस्तिमा खड्काले निर्माता तथा निर्देशक युवराज लामाको एक अभिव्यक्तिप्रति विरोध जनाएकी छिन् । उनले सामाजिक सञ्जाल फेसबूकमा एक स्टाटस लेख्दै लामाको अभिव्यक्तिप्रति असहमति जनाउँदै अपमानजनक भएको टिप्पणी गरेकी हुन् ।

हाल होटल व्यवसायमा व्यस्त रहेका निर्देशक लामाले नायक भूवन केसी र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको विवादको बिषयमा आफ्नो भनाई राख्दै भनेका छन्–‘यदि शोषण भएको हो भने आवाज उठाउनु पर्दछ । तर, कसैले मेरो बाबु भन्दै अंकमाल गर्यो, गाला छोयो भनेर रुनुको अर्थ छैन । यो चलचित्र क्षेत्र हो ।’ लामाको यो भनाइप्रति स्वस्तिमाले असहमति प्रकट गरेकी हुन् । उनले सामाजिक सञ्जालमा लेखेकी छिन् – चलचित्र क्षेत्रको जिम्मेवार र वरिष्ठ व्यक्तिले यस्तो भन्नु दुखद कुरा हो । कसैलाई छुने, चुम्बन गर्ने, जबरजस्ती तान्ने जस्तो व्यवहार शारीरिक दुर्व्यवहार भएको र यस्तो दुर्व्यवहार सह्य नहुने स्वस्तिमाले बताएकी छिन् । स्वस्तिमाले हिरोइन भएर यति त सहनुपर्छ भन्नु अपमानजनक भनाइ भएको बताएकी छिन्। युवराज लामाले अन्तर्वार्ताका क्रममा हिरोइन भएपछि यति त सहनुपर्छ भन्ने आशयको अभिव्यक्ति दिएका थिए । केही दिनअघि नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले अभिनेता भुवन केसीले आफूमाथि दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् ।

Leave a Reply