नेपालमा Over-the-top (OTT) को सम्भावना

लकडाउनको सबै भन्दा पहिलो मार पर्नेहरुको सूचिमा नेपाली चलचित्र उद्योग अग्रपङ्तिमा नै पर्छ सायद । त्यस्तै अन्तिमसम्म मारमा पर्ने पनि नेपाली चलचित्र नै हुनेछ भनेर आंकलन गर्नु त्यति गलत हुने पनि देखिदैन । कारण के हो भने चलचित्र आधारभुत आवश्यकतामा पर्दैन । हलमा भिड हुन्छ । यसैले मानिसहरु हलसम्म पुगेर चलचित्र हेर्ने अवस्था बन्न केहि समय पक्कै लाग्छ ।


यसको विकल्प के त ? सजिलो छ जवाफ । अनलाइन । लकडाउनको समयमा हलहरु बन्द भएको र सबै दर्शकहरु घरमै बन्दी जस्तो बस्नु परेको अवस्थामा धमाधम युट्युबमा नेपाली फिल्महरु रिलिज गर्ने लहर चल्यो । संख्यात्मकरुपमा हेर्ने हो भने सामान्य अवस्थामा भन्दा कम्तिमा दुई गुणा बढि भ्युज आयो तर कमाइको अवस्था भने फरक देखियो ।


वास्तवमा युट्युबमा भ्युजको आधारमा अर्थात यति मानिसले हेरेमा यति कमाइ हुन्छ भन्ने हुदैन । यसको कमाइ CPM (cost per mile) हुन्छ । त्यो भनेको १ हजार पटक विज्ञापन बज्दा आउँने पैसा हो । पहिलो कुरा त, सबै भ्युजमा विज्ञापन बज्छ नै भन्ने हुन्न र बजेको विज्ञापन पनि देश र समय आधारमा फरक फरक दरमा बज्छ । जस्तै अमेरिका, अष्ट्रेलिया तिरका दर्शकले हेर्दा बढि दर हुन्छ भने नेपाल जस्ता देशमा हेर्दा कम दरमा कमाइ हुन्छ ।अष्ट्रेलिया, अमेरिकाको CPM ५ $ हुदा नेपाल को औसत ०.७८ $ छ l त्यसरी आएको कमाइ युट्युबले ४५ प्रतिशत राख्छ भने भिडियो धनीले ५५ प्रतिशत मात्रै पाउँछ । यो भनेको झन्डै आधा कमाइ युट्युबले लैजाने हो ।


यसैले युट्युबको विकल्पमा पैसा तिरेर फिल्म देखाउँने प्लाटफर्महरु आएका छन्, तिनीहरुलाई OTT भनिन्छ । Netflix, Amazon prime, Hotstar, iflix, videopasal, Fopi हरु OTT का केहि उदाहरण हुन् । नेपाली चलचित्र उद्योगका लागि यस मध्ये Fopi, iFlix, Videopasal हरु विकल्पका रुपमा देखिएका छन् तर तिनीहरुमा सामग्री असाध्यै कम छन् ।  अन्तराष्ट्रिय platform Netflix, Amazon prime जस्ता अनलाईन स्ट्रिमिङमा दर्शकले मासिक subscriber बनेर उपलब्ध सबै सामग्री छानेर हेर्न सक्छन् भने नेपाली platform Fopi, Videopasal मा एकदमै थोरै सामाग्री उपलब्ध छ्न् ती सामग्री हेर्न Pay Per View को हिसाबले पैसा तिर्नुपर्ने हुन्छ l  यीनीहरुमा कम सामग्री भएका कारण सोचे जस्तो अगाडी बढेको देखिदैन । हुन त डिस होमले पनि अहिले OTT को विकल्पको रुपमा काम गरिरहेको छ । 


हेरे अनुसार आम्दानी गर्न पाइने भएकाले निर्माताहरुको लागि यो विकल्प राम्रो देखिन्छ । नेपालीको हकमा हेर्ने हो भने OTT मा सबै भन्दा बढि हेरिएको भनिएको छक्कापञ्जा ३ लाई लगभग १५ हजारले डिसहोममा हेरेका थिए, जसबाट निर्माताले करिब 25 लाख हात पारे । 
अर्को चलेको videopasal एपमा कबड्डी कबड्डी कबड्डीले पनि राम्रो व्यापार गर्यो । त्यसबाट निर्माताले १० देखि १२ लाख लिए । यस्ता एपहरुको कारण हलमा नआएका दर्शकबाट पनि चालिस पचास लाखसम्म आउँन सक्ने वातावरण भने बनेको देखिन्छ ।  ठूलो भनिएको फिल्महल पछि डिहोम र OTT मा ४०-५० लाख सम्म आउने बजारक‍ो आकार चाहिँ बनेको छ । यदि हलमा नचलाइ OTT को मात्र भर परेको खण्डमा बिदेशको trend हेर्दा अहिले भन्दा दुइगुणा व्यापार OTT बाट गर्न सकिने अनुमान लगाउन सकिन्छ । त्यो भनेको करिब १ करोड शेयर बराबरको व्यापार हो । मध्यम फिल्मको लागि यो राम्रो भएतापनि ठूला लगानीमा बनेका फिल्मवालालाई २ करोड शेयर स्वरूप नआए  गारो पर्न सक्छ ।


राम्रो विकल्प हुँदाहुँदै पनि OTT का आफ्नै किसिमका समस्याहरु पनि छन् । यसमा पाइरेसीको समस्या सबै भन्दा मुख्य हो । विदेशमा चै पाइरेसी भइहाले पनि दर्शकहरु हलसम्म जाने अवस्था देखिएको छ तर नेपाली फिल्मको सन्दर्भमा भने त्यस्तो देखिएको छैन । एक पटक अनलाइनमा आएको फिल्म हेर्न दर्शक हलमा नपुग्ने देखिएको छ । यसलाई प्राबिधिक कुराले पनि थप जटिल बनाएको छ । एक पल्ट अनलाइनमा आइसकेको फिल्म कुनै न कुनै रुपमा अनलाइनमा घुमिरहेकै हुन्छ ।  एकजनाको हातमा सामग्री परिसकेपछि विभिन्न माध्यम मार्फत piracy हुने डर सधैं रहन्छ । P2P Sharing, Torrent, Google Drive, Telegram, Facebook जस्ता माध्यमबाट फाईल आदानप्रदान गर्न एकदमै सहज भएको छ । हामी सङ piracy को लागि प्रष्ट कानुन नभएको तथा सहि security र tracing tools, अनि automatic content removal tools हरुको अभावले गर्दा ति content हरु हटाउन निक्कै झन्झट व्यहोर्नु परेको पाइन्छ । OTT को अर्को समस्या हो, सामग्रीको कमि । असाध्यै कम चलचित्रहरु वा भिडियो सामग्रीहरु एपमा भएकाले नियमितरुपमा दर्शकहरु पाइराख्न सम्भव भएको छैन । एउटा फिल्म त्यसमा राखिन्छ र केहि समय खाली हुन्छ । यसले दर्शकहरुले OTT लाई नियमित विकल्पकारुपमा स्विकार्न सकिरहेका छैनन् । त्यस्तै, एपमा पैसा तिर्नका लागि अझै पनि भरपर्दो पेमेन्ट सिस्टमहरु बनिसकेका छैनन् ।  


यसमा नेपाली समाजकै डिजिटल साक्षरताको पनि भुमिका छ । कुन सामग्री आधिकारिक हो र कुन होइन भन्ने छुट्याउँन सक्ने साक्षर मानिसहरुको संख्या कम छ । यसले एपहरुलाई धेरै प्रयोगकर्तासम्म पुग्न समय लागिरहेको छ ।


समग्रमा भन्नु पर्दा, OTT राम्रो विकल्प हो तर यसमा नै भर परेर फिल्म बनाउँन सक्ने अवस्था भने आइसकेको छैन । विश्वासिलो र सामग्रीहरुले भरपुर प्लाटफर्म बनिसक्दैन, तब सम्म नेपाली फिल्म OTT मा जम्न सक्दैन । र, विश्वास जितिसकेका ठुला प्लाटफर्महरु नेटफ्लिक्स, अमेजन प्राइमसम्म पुग्न नेपाली प्रयोगकर्ताहरुको बाटो बन्द छ ।

Leave a Reply