पल र पूजा अभिनित ‘म यस्तो गीत गाउँछु २’को रिलिज कोरोनाका कारण रोकियो

सुदर्शन थापाको निर्माण तथा निर्देशनमा तयार भएको अभिनेत्री पूजा शर्मा र अभिनेता पल शाहको अभिनय रहेको चलचित्र ‘म यस्तो गीत गाउँछु २’ निर्माण युनिटले आफ्नो प्रदर्शन रोकेको छ।

विश्वभर कोरोना भाइरस (कोभिड-१९)को त्रास बढेसँगै नेपालमा पनि यसको त्रास फैलिएको छ। यसैलाई मध्यनजर गर्दै आउँदो फागुन ३० गतेबाट प्रदर्शन गरिने भनिएको चलचित्र ‘म यस्तो गीत गाउँछु २’ को प्रदर्शन रोकिएको हो।

शुक्रवार निर्माण कम्पनी सुदर्शन थापा प्रोडक्सनले एक विज्ञप्ती जारी गर्दै चलचित्र फागुन ३० गतेबाट प्रदर्शनमा नआउने जानकारी गराएको हो । नेपाल सरकारले कोरोनाभाइरसको सङ्क्रमणबाट बच्नका लागि पारिवारिक जमघट, मेला महोत्सव, जात्रापर्वजस्ता कार्यक्रममा सरिक नहुन र त्यस्ता कार्यक्रम स्थगन गर्न अनुरोध गरेको र त्यसैलाई मध्यनजर गरी सरकारको अर्को सूचना नआउञ्जेल सम्मका लागि चलचित्र प्रदर्शन स्थगित गरिएको चलचित्र युनिटले जनाएको छ।

सांगीतिक प्रेम कथामा तयार भएको चलचित्र ‘म यस्तो गीत गाउँछु २’ मा पल र पूजाका अलावा हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, सोनिका रोकायलगायतका कलाकारहरुको अभिनय छ । अब चलचित्र ‘म यस्तो गीत गाउँछु २’ कहिले प्रदर्शन हुने हो, त्यो भने कौतुहलताको विषय बनेको छ ।

Leave a Reply