अनमोल र सुहाना स्टारर ‘ए मेरो हजुर ४’को शुभ मुहूर्त

अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापाको प्रमुख भूमिका रहने चलचित्र ‘ए मेरो हजुर ४’ को मुहूर्त गरिएको छ । शुक्रवार काठमाडौंको गोंगबुमा रहेको कार्यविनायक मन्दिरमा चलचित्रको मुहूर्त गरिएको हो । चलचित्रको मुहूर्त समारोहमा अनमोल र सुहानासँगै अभिनेता सलोन बस्नेत, निर्देशक झरना थापा, छायाँकार सञ्जय लामालगायत उपस्थित थिए ।

मुहूर्तसँगै चलचित्रको छायांकन पनि सुरु भएको छ । शुक्रवार काठमाडौंमा केही दृश्य कैद गरेर निर्माण टिम आजै पोखरा प्रस्थान गर्दैछ । पोखरामा १० दिन, काठमाडौं र ललितपुरमा चलचित्रको करीब ३० दिन छायांकन हुने जानकारी प्राप्त छ । यूरोप र ओमानमा गीतको छायांकन गर्ने तयारीमा निर्देशक थापा छिन् । चलचित्रको निर्माण लागत डेढ करोड नाघ्ने अनुमान गरिएको छ ।

सुनिल कुमार थापा प्रोडक्सन र सुहाना इन्टरटेनमेन्टको ब्यानरमा बन्न लागेको ‘ए मेरो हजुर ४’ अर्को वर्ष (२०७७) को दशैंको फूलपातीमा प्रदर्शनमा आउँदैछ । दीपकराज गिरी र दीपाश्री निरौलाको समुहले निर्माण गर्न लागेको चलचित्र ‘छक्का पञ्जा ४’ र मह जोडी अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले निर्माण तथा अभिनय गर्ने चलचित्र पनि आउँदो वर्षको फूलपातीमा प्रदर्शन हुँदैछ । अब, अर्को वर्ष ठूला चलचित्रबीच महाभिडन्त हुने देखिएको छ ।

‘ए मेरो हजुर ३’बाट निकै रुचाइएको अनमोल र सुहानाको यस चलचित्र निकै प्रतीक्षित बनेको छ । अनमोल र सुहानाले अभिनय गरेको ‘ए मेरो हजुर ३’ बक्सअफिसमा सुपरहिट सावित भएको थियो । यहि चलचित्रबाट डेब्यु गरेकी सुहानाको अभिनयलाई दर्शक र समिक्षकले रुचाएका थिए ।

Leave a Reply