‘नम्बरी सुन’मा आमेशको ठाउँमा भित्रिए गौरव पहारी

राजु गिरीको निर्देशन तथा निर्माणमा बन्न लागेको चलचित्र ‘नम्बरी सुन’ मा अभिनेता गौरव पहारी भित्रिएका छन् । यसअघि अभिनेता आमेश भण्डारी अनुबन्ध भएको चलचित्रमा अब उनको ठाउँमा गौरव भित्रिएका हुन् । मंगलवार गौरव र निर्माता नारायण खातीबीच कागजी सम्झौता भएको हो । आमेश बिना जानकारी अष्ट्रेलिया हानिएपछि निर्माताले गौरवसँग सम्झौता गरेका हुन् । चलचित्रमा गौरवको जोडी अभिनेत्री नम्रता सापकोटासँग बाँधिनेछ ।

गौरव र नम्रतासँगै राजाराम पौडेल, सरोज खनाल, बुद्धि तामाङ, सविन बास्तोला, गीता अधिकारी, स्मृति वलीको पनि अभिनय रहने चलचित्रका लागि अन्य केही कलाकार चाँडै छनोट गरिने निर्देशक गिरीले बताए । सात दशकअघिको ऐतिहासिक सामाजिक कथामा बन्न लागेको चलचित्रको शुभ मुहूर्त गरेर आगामी माघ २० गतेबाट छायांकन सुरु गर्ने तयारीमा निर्माण टिम छ । हालै लेखक शिवम् अधिकारीले स्क्रिप्ट तयार गरेर निर्देशक गिरी र निर्माता खातीलाई हस्तान्तरण गरेका थिए ।

सुवर्ण शिभान्स फिल्मसको ब्यानरमा निर्माण हुने चलचित्रका प्रस्तुतकर्ता र निर्माता नारायण खाती हुनेछ । लमजुङको भुजुङ्ग खोला, हेटौंडा र काठमाडौंका विभिन्न ठाउँमा छायांकन हुनेछ । चलचित्रमा सन्तोष श्रेष्ठको संगीत, दिव्य सुवेदीको छायांकन, रामजी लामिछाने कोरियोग्राफी रहनेछ ।

Leave a Reply