रेखाको चलचित्रको गीतमा स्मिता र प्रतापको आवाज रेकर्ड

एक समय नेपाली चलचित्र क्षेत्रमा एकछत्र राज गरेकी अभिनेत्री रेखा थापाको अनटाइटल चलचित्रको एक गीत रेकर्ड गरिएको छ । गीतका लागि गायिका स्मिता दाहालले आवाज रेकर्ड गराएकी छन् । पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की नातिनीका पछिल्ला गीत ‘मायालु तिमी कता छौँ’ र ‘कल्लाई थाहा छैन’ हिट छन् ।

बाह्र वर्षको उमेरदेखि नै गीत गाउन सुरु गरेकी स्मिताको ‘मायालु तिमि कता छौँ’ले मन जितेपछि रेखाले आफ्नो चलचित्रसँग उनलाई आवद्द गरेकी हुन् । बसन्त सापकोटाको संगीतमा स्मितासँगै गायक प्रताप दासले पनि आवाज रेकर्ड गराइसकेका छन् । गीतमा शब्द बसन्त सापकोटाको नै छ भने एरेञ्ज उदयराज पौडेलले गरेका हुन् ।

स्मिताको गीतलाई लिएर रेखा निक्कै उत्साहित देखिएकी छन् । ‘रेखा थापासँगको सहकार्यमा जसरी ‘सिम्पल सिम्पल कान्छी’ र ‘स्लोली स्लोली’ सफल भएका थिए । त्यस्तै सफलता यस गीतले पनि पाउने विश्वास लिएको छु ।’ संगीतकार सापकोटाले भने ।

नाम घोषणा नगरिएको चलचित्रलाई सबिर श्रेष्ठले निर्देशन गर्नेछन् । रेखा फिल्मस्को ब्यानरमा निर्माण हुने चलचित्रमा रेखाका अलावा सौगात मल्ल र दयाहाङ राईको पनि मुख्य भूमिका रहनेछ । यी तीन कलाकारको ठुलो पर्दामा सहकार्य पहिलो पटक हुँदैछ । बैशाखबाट छायांकन सुरु हुने चलचित्र तिहारमा रिलिज हुनेछ ।

Leave a Reply