मोर्डन अवतारमा विराज र निकिता, ‘साङ्लो’को दोस्रो ‘झ्याम्मै आँखा झ्याम्मै’ गीत सार्वजनिक (भिडियो सहित)

करीब ३ वर्षपछि नेपाली चलचित्रमा कमब्याक गरेका अभिनेता विराज भट्टले निर्माण र निर्देशनमा डेब्यू गरेको चलचित्र ‘साङ्लो’को दोस्रो ‘झ्याम्मै आँखा झ्याम्मै’ बोलको गीत सार्वजनिक भएको छ । राजधानी आसपासका क्षेत्रमा खिचिएको गीतमा विराज र डेब्यु अभिनेत्री निकिता चाण्डक फिचर्ड छन् । सुरेश अधिकारीको संगीत रहेको गीतमा अन्जु पन्त र निशान भट्टराईको स्वर छ । गीतमा शब्द रचना पनि निशानले नै गरेका हुन् भने गीतको कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन् ।

पहिलो गीत ‘चरीले काफल टिप्यो’मा परम्परागत पहिरणमा देखिएका विराज र निकितालाई यस गीतमा मोर्डन अवतारमा देख्न सकिन्छ । डान्सिङ नम्बरको गीतमा यो जोडीले निकै राम्रो नृत्य गरेका छन् । विराज र निकिताको केमेस्ट्री सुहाएको देखिन्छ । गीतको अडियो र भिडियो दुवै निकै राम्रो छ ।

नेपालको सुदूरपश्चिममा छायांकन भएको चलचित्रमा विराज र निकिताका साथै प्रकाश शाह, कामेश्वर चौरासिया, अमित गिरी, रमेश सोडारी, जयनन्द लामा, आरपी पन्त, भरत शाह, दुर्गा सुवेदीलगायतको कलाकारहरूको अभिनय रहेको छ । चलचित्रमा प्रकाश शाह र कामेश्वर चौराशिया नेगेटिभ भूमिकामा छन् ।

काफिया फिल्मस् र एफडी वितरक कम्पनीको ब्यानरमा बनेको चलचित्रमा श्री श्रेष्ठको द्वन्द्व निर्देशन, मानकृष्ण महर्जनको छायाँकन, सुरेश अधिकारी र राजनराज सिवाकोटीको संगीत र शिवम अधिकारीको कथा छ । चलचित्रमा कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी रहेको छ । चलचित्र ‘साङ्लो’ ले किड्नी तस्करीको कथा बोकेको छ ।

आगामी माघ २४ गतेबाट नेपालभर प्रदर्शनमा आउन लागेको चलचित्रलाई भोजपूरी भाषामा पनि डब गरिएको छ । ‘एक्सन स्टार’ विराज भट्ट लामो समयपछि पर्दामा फर्किएका कारण ‘साङ्लो’ दर्शकमाझ प्रतिक्षीत छ । विराजको निर्देशन र निकिताको अभिनयमा डेब्यू चलचित्र भएका कारण ‘साङ्लो’ माथि धेरैको चासो छ ।

Leave a Reply