हलमा दर्शकको साथ नपाएको ‘डाँडाको वर पीपल’ ओटीटीमा रिलिज हुँदै

चलचित्र ‘डाँडाको वर पीपल’ आउँदै गरेको तिहारमा ओटीटी प्लेटफर्ममा रिलिज हुँदैछ । यही बिहीवारबाट डिसहोमको च्यानल नम्बर ८८८ मा र लक्ष्मीपुजाबाट ओटीटीमा चलचित्र रिलिज हुने बताईएको छ ।

ओटीटी प्लेटफर्मका लागि निर्माण गरिएको चलचित्र ‘डाँडाको वर पीपल’ यसपालीको दशैंमा कुनै चलचित्र प्रदर्शनमा नआउने भएपछि फूलपातीमा रिलिज गरिएको थियो । तर सिनेमा घरमा चलचित्रले दर्शकको साथ पाउन असफल भयो । प्रदर्शनको पहिलो हप्ताबाटै काठमाडौं र मोफसलका हलहरुले चलचित्र हटाइसकेका छन् ।

चलचित्र रिलिजका लागि दशैं विदा सबैभन्दा राम्रो मानिन्छ । गत वर्ष दशैंमा कोरोनाका कारण सिनेमा हल सुनसान भए । यस वर्षको दशैंमा भने ‘डाँडाको वरपीपल’ रिलिज भएको थियो । चलचित्रले कोरोनाका कारण सुस्ताएको चलचित्र क्षेत्रलाई चलायमान बनाउने धेरैको अपेक्षा थियो । तर त्यो हुन सकेन ।

शिव श्रेष्ठ, भुवन केसी, गौरी मल्ल, सलोन बस्नेत जस्ता चलेका कलाकारको अभिनय रहेको चलचित्रलाई ‘महानायक’ विवाद निकै नराम्ररी असर गर्यो। निर्देशक बस्नेतले चलचित्रलाई चर्चामा ल्याउन ‘महानायक’ विवाद झिकेका थिए । तर उनले सोचेको र चाहेको भन्दा बिल्कुलै उल्टो भयो । चलचित्र रिलिजको संघारम दर्शकले चलचित्र बहिस्कार गर्ने कुरा समेत उठाएका थियो ।

चित्लाङमा छायांकन भएको यो चलचित्रमा शिव श्रेष्ठ र भुवन केसीले १६ वर्षपछि एकसाथ चलचित्रमा काम गरेका हुन् । उनीहरुले पछिल्लो पटक २००५ मा रिलिज भएको शोभित बस्नेत निर्देशित सुपरहिट चलचित्र ‘राजु राजा राम’ मा सँगै काम गरेका थिए । त्यस्तै, शिव श्रेष्ठ र गौरी मल्लले ‘धर्मसंकट’ रिलिजको २० वर्षपछि एकसाथ काम गरेका हुन् । चलचित्रमा सलोनको जोडी रुविनासँग बाँधिएको छ ।

निर्देशक शोभित बस्नेतद्वारा निर्देशित यस मल्टिस्टारर चलचित्रमा अस्मिता जुरेली, हिउँवाला गौतम, उतम केसी, संगम भण्डारी, सुशान्तकुमार श्रेष्ठ, प्रभात पल, अस्मी थापा, प्रदीप गिरी, ज्ञानकुमार कट्टेल लगायतका कलाकारको पनि अभिनय छ । नवराज गिरीको लगानी रहेको चलचित्रमा रामकाजी घिमिरेको लेखन, सुशान्त प्रजापतिको छायांकन, रोशन श्रेष्ठको द्वन्द्व निर्देशन र मित्रदेव गुरुङको सम्पादन छ ।

Leave a Reply