आकाश र पूजा स्टारर ‘सम्झना बिर्सना’को फर्स्टलुक पोस्टरसँगै रिलिज मिति घोषणा

लभस्टोरी जनरामा निर्मित चलचित्र ‘सम्झना बिर्सना’ को फर्स्टलुक पोस्टरसँगै प्रदर्शन मिति सार्वजनिक गरिएको छ । प्रणय दिवसको अवसर पारेर शुक्रवार सार्वजनिक गरिएको पोस्टरमा चलचित्रका प्रमुख अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री पूजा शर्मा फिचर्ड छन् । पोस्टरमा पूजा घोडामा सवार छिन् । भने, आकाशले घोडालाई डोर्‍याइरहेका छन् । निमेष प्रधानले चलचित्रको निर्देशन गरेका हुन् । यो उनको डेब्यू निर्देशित चलचित्र हो ।

‘सम्झना बिर्सना’ आउँदो वर्ष २०७७ को जेठ २ गतेबाट प्रदर्शनमा आउने भएको छ । दार्जिलिङ, सिक्किम र नेपालको जीवन पद्दतिको प्रेमकथामा आधारित भएर निर्माण भएको चलचित्रलाई आदित्य प्रधान र रेविका प्रधानले निर्माण गरेका हुन् । चलचित्रको कथा तथा पटकथा निर्देशक प्रधान स्वयंको हो ।

सुनिल थापा, शिशिर राणा, छुल्ठिम गुरुङलगायतका कलाकारहरुको पनि अभिनय रहेको चलचित्रलाई शिव ढकालले खिचेका हुन् । चलचित्रको सम्पादन गर्ने जिम्मेवारी तारा थापा ‘किम्भे’ को काँधमा छ । त्यस्तै, चलचित्रमा कमल राईको कोरियोग्राफी र शिशिर राणाको संवाद छ । निर्देशक निमेषले युवा पुस्तालाई लक्षित गरेर चलचित्र बनाएको बताए ।

अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री पूजा शर्माले चौथौ पटक सहकार्य गरेको चलचित्र हो, ‘सम्झना बिर्सना’ । गत वर्ष प्रदर्शनमा आएको चलचित्र ‘रामकहानी’ पछि उनीहरुले लगातार सँगै चलचित्र गरिरहेका छन् । पछिल्लो पटक उनीहरु ‘पोइ पर्‍यो काले’ मा देखिएका थिए । अर्को वर्षको तिजमा यो जोडीले अभिनय गरेको चलचित्र ‘सम्हालिन्छ कहिले मन’ प्रदर्शनमा आउने तयारीमा छ ।

Leave a Reply