‘बागी ३’ को डरले ‘म यस्तो गीत गाउँछु २’ एक साता पछि सर्‍यो

वर्षमा एउटा मात्र चलचित्र लिएर आउने सुदर्शन थापा यस वर्ष चलचित्र ‘म यस्तो गीत गाउँछु’ को सिक्वेल दर्शकमाझ पस्कँदैछन् । थापाको निर्माण तथा निर्देशनमा तयार भएको चलचित्र ‘म यस्तो गीत गाउँछु २’ यही फागुन २३ गतेबाट प्रदर्शनमा आउने तय भएको थियो । तर, यो मितिमा केही दिनअघि मात्र अभिनेता टाइगर श्राफ र अभिनेत्री श्रद्धा कूपर अभिनित बलिउड चलचित्र ‘बागी ३’ आउने निश्चित भयो । यो चलचित्रको ट्रेलरले नेपालमा समेत एक प्रकारको हलचल मच्चाइसकेको छ ।

‘बागी ३’ फागुन २३ गते प्रदर्शनमा आउने भएपछि ‘म यस्तो गीत गाउँछु २’ को प्रदर्शन मिति पोस्टपोन्ड हुने धेरैले अनुमान गरेका थिए । अन्ततः त्यस्तै नै भयो । अब, यो चलचित्र एक हप्ता पछाडि अर्थात् फागुन ३० गतेबाट प्रदर्शनमा आउने भएको छ । बिहीवार नयाँ प्रदर्शन मितिसहित निर्माण टिमले अभिनेता पल शाह र अभिनेत्री पूजा शर्माको प्रेममा आउने उतार-चढाव देखाइएको ट्रेलर सार्वजनिक गरेको छ ।सांगीतिक प्रेम कथामा तयार भएको चलचित्र ‘म यस्तो गीत गाउँछु २’ मा पल र पूजाका अलावा हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, सोनिका रोकायलगायतका कलाकारहरुको अभिनय छ ।

आफू निर्देशित तथा निर्मित चलचित्रसँग ‘बागी ३’ भिड्ने भएपछि सुदर्शन थापाले एक अन्तर्वार्तामा भनेका थिए, ‘म कुनै हालतमा फागुन २३ बाट सर्दिनँ । कहिलेसम्म विदेशी चलचित्रको डरले बाँच्ने ? विदेशी चलचित्रको डरमा नै बाँच्ने भए किन नेपाली चलचित्र बनाउनु ? ढुक्क हुनुस् ‘म यस्तो गीत गाउँछु २’ को प्रदर्शन मिति सर्दैन । दर्शकले नेपाली चलचित्रलाई नै साथ दिनेछन् ।’

तर, ‘बागी ३’ को डरले आफ्नो चलचित्र नसर्ने घोषणा गरेको एक हप्तामा नै उनले ‘म यस्तो गीत गाउँछु २’ को प्रदर्शन मिति एक हप्ता पछाडि सारेका छन । बिहीवार चलचित्रको ट्रेलर सार्वजनिक कार्यक्रममा उनले फागुन २३ मै आफूले चलचित्र ल्याउन खोजेको भए पनि वितरकका कारण एक हप्ता पछाडि सरेको बताए ।

Leave a Reply