‘दुई नम्बरी’को टिमले प्राविधिकलाई बोनस बाँड्ने

निर्देशक दिपेन्द्र लामाको लेखन तथा निर्देशनमा निर्माण भएको चलचित्र ‘२ नम्बरी’ यतिबेला प्रदर्शनरत छ । दशैंको अवसर पारेर असोज २१ गतेबाट प्रदर्शनमा आएको चलचित्रले बक्सअफिसमा राम्रो व्यापार गरिरहेको छ । दर्शकबाट बलियो ‘वर्ड अफ माउथ’ पाएको कारण चलचित्रको सिंगल थिएटर र मल्टीप्लेक्स दुवैतिर दर्शक अकुपेन्सी राम्रो छ । अभिनेता द्वय दयाहाङ राई र सौगात मल्ल अभिनित चलचित्रलाई दर्शकले निकै मनपराएका छन् । यसैक्रममा चलचित्र सफल भएसँगै ‘२ नम्बरी’ टिमले प्राविधिकलाई बोनस बाँड्ने भएको छ ।

प्रस्तुतकर्ता किरण नेपालीको अनुसार चलचित्रले पहिलो सप्ताहमा मुनाफा कमाइसकेकोले प्राविधिकहरुलाई बोनस बाँड्ने निर्णय भएको हो । बोनस रकम कति दिने भन्नेबारेमा केही फाइनल भएको छैन । चलचित्रमा उगेन छोदेन (भुटानी अभिनेत्री), उपासना सिंह ठकुरी र बुद्धि तामाङको पनि मुख्य भूमिका रहेको छ । चलचित्रमा दयाहाङ र उगेन तथा सौगात र उपासनाको जोडी बाँधिएको छ । चलचित्रको सम्पूर्ण कास्कीको छायांकन ल्वाङ गाउँमा भएको हो ।

एउटा सुन्दर गाउँका २ जना साथी, उनीहरुको मित्रता र दुश्मनीको कथा भन्ने चलचित्र ‘२ नम्बरी’ले समाजमा हुने गरेका २ नम्बरी कामलाई पनि उठान गरेको छ । रेड बर्ड प्रोडक्शन र आरआर फिल्म प्रोडक्शनको ब्यानरमा निर्माण भएको चलचित्रमा कार्यकारी निर्माताको रुपमा किरण नेपाली छन् । चलचित्रमा गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे) र अमलादेवी राईको लगानी छ । भने, कार्यकारी निर्माता सरोज नेपाली हुन् । चलचित्रमा सुशन प्रजापतिको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी रहेको छ ।

Leave a Reply