विराजको कमब्याक चलचित्र ‘साङ्लो’लाई दर्शकको भव्य साथ (भिडियो सहित )

करीब ३ वर्षपछि नेपाली चलचित्रमा कमब्याक गरेका अभिनेता विराज भट्टले निर्माण र निर्देशनमा डेब्यू गरेको चलचित्र ‘साङ्लो’ शुक्रवारबाट प्रदर्शनमा आएको छ । विराजको जोडीको रुपमा पूर्व मिस नेपाल निकिता चाण्डक छिन् । चलचित्रको शुक्रवार र शनिवारको व्यापार उत्साहजनक रहेको बताइएको छ । शुक्रवार ५५ प्रतिशत अकुपेन्सी पाएको चलचित्रले शनिवार दिउँसोसम्म शत प्रतिशत अकुपेन्सी हात पारेको छ । शनिवार सिंगल स्क्रिनमा ८० प्रतिशत अकुपेन्सीका साथ ओपनिङ गरेको थियो भने शत प्रतिशत सम्म पुगेको वितरक गोपाल कायस्थले बताएका छन् । राजधानीका गोपीकृष्ण, गुण सिनेमाज, अष्टनारायण हल मा दर्शकको चाप धेरै थियो ।

काठमाडौं भ्यालीका लागि ‘साङ्लो’ वितरक गोपालकाजी कायस्थले तिहारपछि हलको विहानी सोज चलेको भन्दै खुसी व्यक्त गरे । पुष्पाञ्जली र सिद्धार्थ हलका सञ्चालक समेत रहेका उनले भने- ‘तिहारपछि कुनै नेपाली नचल्दा देशभरका सिंगल थिएटरका विहानी शोज कटौती हुँदै आएका थिए । ‘साङ्लो’ रिलिज भएसँगै हलमा विहानदेखि बेलुकासम्म दर्शकको भीड लागेको छ ।’

https://www.youtube.com/watch?v=gsx5q-zJRDY&t=211s

चलचित्र हेरेका दर्शकले विशेषगरि अभिनेता विराज भट्टको एक्सन रुचाएका छन् । कथावस्तु र प्रस्तुतीकरणलाई लिएर भने मिश्रित प्रतिक्रिया छ । विराज शनिवार दर्शक प्रतिक्रिया बुझ्न राजधानीका केही सिंगल थिएटरमा अभिनेत्री निकिता चाण्डकको साथमा पुगेका थिए । दिउँसो राजधानीको गोपीकृष्ण हल पुग्दा उनलाई दर्शकले ‘बाघ फर्कियो’ भन्दै ठूलो हुटिङ गरेका थिए ।

धेरैपछि नेपाली दर्शकसँग प्रत्यक्ष साक्षात्कार गर्न पाउँदा अभिनेता विराज खुसी देखिन्थे । उनले गोपीकृष्णको बालकुनीमा उभिएर दर्शकलाई हात जोडेर अभिनन्दन गर्दै चलचित्रको गीत र संवाद बोलेर सुनाए । त्यहाँ उनीसँग सेल्फी खिच्न र हेर्नका लागि दर्शकको थामिनसक्नुको भीड लागेको थियो ।अभिनेता विराजले चलचित्रलाई साथ र माया दिएकोमा दर्शकलाई धन्यवाद दिँदै भने- ‘मलाई यस स्थानसम्म दर्शकले ल्याउनु भएको हो । र, लामो समयपछि दर्शकमाझ आउँदा यतिको स्वागत होला भन्ने सोचेको थिएन । मायाको लागि धन्यवाद ।’

चलचित्रमा विराज र निकिताका साथै प्रकाश शाह, कामेश्वर चौरासिया, अमित गिरी, रमेश सोडारी, जयनन्द लामा, आरपी पन्त, भरत शाह, दुर्गा सुवेदीलगायतको कलाकारहरूको अभिनय रहेको छ । चलचित्रमा प्रकाश शाह र कामेश्वर चौराशिया नेगेटिभ भूमिकामा छन् ।

काफिया फिल्मस् र एफडी वितरक कम्पनीको ब्यानरमा बनेको चलचित्रमा श्री श्रेष्ठको द्वन्द्व निर्देशन, मानकृष्ण महर्जनको छायाँकन, सुरेश अधिकारी र राजनराज सिवाकोटीको संगीत र शिवम अधिकारीको कथा छ । चलचित्रमा कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी रहेको छ । चलचित्र ‘साङ्लो’ ले किड्नी तस्करीको कथा बोकेको छ ।

Leave a Reply