विपिनको ‘सेल्फी किङ’ र विराजको ‘साङ्लो’ हलमा, कसले पाए धेरै शो ?

करीब ३ वर्षपछि नेपाली चलचित्रमा कमब्याक गरेका अभिनेता विराज भट्ट अभिनित चलचित्र ‘साङ्लो’ र अभिनेता विपिन कार्की अभिनित चलचित्र ‘सेल्फी किङ’ माघ २४ शुक्रबारबाट एकसाथ देशैभर प्रदर्शनमा आएको छ । ‘साङ्लो’ मा अभिनेता विराज भट्ट एक्सन अवतारमा प्रस्तुत छन् भने ‘सेल्फी किङ’ मा अभिनेता विपिन कार्कीले हास्यकलाकारको भूमिका निभाएका छन् ।

दुवै चलचित्र फरक जनरामा निर्माण भएका हुन् । प्रदर्शनभन्दा अगाडि राम्रो हाइप बनाएका यी दुई चलचित्रका गीतसंगीत र ट्रेलर दर्शकले रुचाएका छन् । निर्माताले ठूलो शेयर हात पार्ने मल्टीप्लेक्सहरुमा चलचित्र ‘साङ्लो’ ले पर्याप्त सोज पाएको छैन । मल्टीप्लेक्सको ठूलो चेन भएको हल क्युएफएक्सले चलचित्रलाई २० शो दिएको छ । हुनत, ‘साङ्लो’ सिंगल थिएटर केन्द्रित चलचित्र हो । विराज सिंगल थिएटरमा रुचाइएका अभिनेता हुन् । त्यसैले पनि यो चलचित्रले मल्टीप्लेक्समा भन्दा सिंगल थिएटरमा राम्रो व्यापार गर्ने अनुमान गरिएको छ । मल्टीप्लेक्समा कम शो पाए पनि सिंगल थिएटर भने प्रायः ‘साङ्लो’ कै कब्जामा छ । ‘सेल्फी किङ’ ले भने मल्टीप्लेक्समा पर्याप्त सोज पाएको छ । क्युएफएक्सले चलचित्रलाई ३५ शो दिएको छ ।

बुधवार राजधानीमा आयोजित प्रिमियरमा सुखद प्रतिक्रिया बटुलेको चलचित्र ‘सेल्फी किङ ’ लाई विशाल सापकोटाले निर्देशन गरेका हुन् । चलचित्रलाई दिनेश राउत र सुभाष थापाले निर्माण गरेका हुन् । ड्रामेडी जनरामा निर्माण भएको चलचित्रमा विपिनका अलावा लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणी सापकोटा, सविन बाँस्तोला, जीवन भट्टराई, कमल देवकोटालगायतका कलाकारको अभिनय छ । चलचित्रमा अभिनेत्री केकी अधिकारीले एक गीतमा ठुम्का लगाएकी छन् ।

अभिनेता विराज भट्टले निर्माण र निर्देशनमा डेब्यू गरेको चलचित्र ‘साङ्लो’मा उनको जोडीको रुपमा पूर्व मिस नेपाल निकिता चाण्डक छिन् । चलचित्रले मृगौला तस्करीको कथा भन्छ । चलचित्रमा विराज र निकिताका साथै प्रकाश शाह, कामेश्वर चौरासिया, अमित गिरी, रमेश सोडारी, जयनन्द लामा, आरपी पन्त, भरत शाह, दुर्गा सुवेदीलगायतको कलाकारहरूको अभिनय रहेको छ । चलचित्रमा प्रकाश शाह र कामेश्वर चौराशिया नेगेटिभ भूमिकामा छन् । बक्सअफिसमा ‘साङ्लो’ र ‘सेल्फी किङ’ मध्ये कसले बाजी मार्छ , त्यो प्रतिक्षाको विषय बनेको छ ।

Leave a Reply