अक्षय र मानुषीको ‘पृथ्वीराज’ जुन १० मा प्रदर्शन हुने

बलिउड अभिनेता अक्षय कुमार र पूर्व विश्व सुन्दरी मानुषी छिल्लरको मुख्य भूमिका रहेको चलचित्र ‘पृथ्वीराज’को प्रदर्शन मिति घोषणा भएको छ । यो बहुप्रतिक्षित चलचित्र आगामी जुन १० मा प्रदर्शन हुने भएको छ । चलचित्रको निर्माणपक्षले बिहीबार ‘पृथ्वीराज’को मोसन पोस्टर सार्वजनिक गर्दै चलचित्रको नयाँ प्रदर्शन मिति तय गरेको हो । एक ऐतिहासिक प्रेमकथामा आधारित यो चलचित्र सम्राट पृथ्वीराज चौहानको जीवनीमा आधारित छ ।

चलचित्रमा अभिनेता अक्षय कुमारको शीर्ष भूमिकामा रहेको छ । यस चलचित्रमा अक्षयको जोडीको रूपमा सन् २०१७ की विश्वसुन्दरी मानुषी छिल्लर छिन् । मानुषीको यो डेब्यु चलचित्र हो । चलचित्रका लागि मानुषीले नृत्य र अभिनयसमेत सिकेकी भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यस चलचित्रमा मानुषीले राजकुमारी संयोगिताको भूमिका निभाएकी छिन्। अक्षयकुमार र मानुषी छिल्लरका साथै चलचित्रमा सोनु सुद, सञ्जय दत्त, आशुतोष राणा, साक्षी तवंर लगायतका कलाकारहरुको अभिनय रहेको छ। चन्द्रप्रकाश द्विवेदीले निर्देशन गर्ने यो चलचित्र यशराजको ब्यानरमा निर्माण भएको हो ।

Leave a Reply