‘ए निकाल गाँजा, खानुपर्छ आज’ भन्दै गीत गाएका गायक दुर्गेश थापा समातिए

महानगरीय प्रहरी अपराध महाशाखा टेकुले गायक दुर्गेश थापालाई नियन्त्रणमा लिएको छ । तिहारको छेको पारेर सार्वजनिक गीत ‘ह्याप्पी तिहार, चिसो बियर’ मा प्रयोग गरिएको शब्दका कारण विवादमा तानिएका गायक तथा मोडल थापाविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी परेको थियो ।

महानगरीय अपराध महाशाखाका एसएसपी सहकुल थापाले ‘ह्याप्पी तिहार, चिसो बियर’ बोलको विवादित गीतका विषयमा परेको उजुरीका आधारमा थापालाई नियन्त्रणमा लिइएको बताए । थापाले भने, ‘सामाजिक मूल्य मान्यता विपरित गीत गाएर समाजलाई गलत सन्देश दिने काम कानून विपरित हो । त्यसैले उनलाई नियन्त्रणमा लिएका छौं ।’ गायक थापालाई बालाजुबाट नियन्त्रणमा लिइएको उनले बताए । दुर्गेशले एक बियर ब्राण्डबाट प्रायोजन गरी उक्त तिहार गीतको भिडियो बनाएका छन् । भिडियोमा गीत भन्दा बढि मादकपदार्थलाई प्रस्तुत गरिएको छ ।

जिप्रकाले महानगरीय प्रहरी अपराध महाशाखा टेकुलाई पत्र लेखेको थियो । सोही पत्रका आधारमा आजै महाशाखाले गोंगबुबाट थापालाई पक्राउ गरेको छ । थापा अहिले पनि महाशाखामा नै छन् ।

‘म अहिले उहाँहरुसँग छलफलमै छु, उहाँहरुले हटाउनुपर्छ भनेपछि यूट्यूवबाट हटाइएको छ,’ थापाले भने । गीत हटाएपछि प्रहरीले आफूलाई छाड्ने उनले आशा गरे ।

थापाको गीतले देउसीलाई विकृत तरिकाले प्रस्तुत गरेको र संस्कृति विगारेको आरोप लागेको छ । साथै गीतमा वीयरको प्रचार पनि गरिएको छ । यूट्यूवमा राम्रो भ्यूज बटुले पनि अत्यधिक आलोचना भएको थियो । आलोचनाका कारण थापाले कमेन्ट बक्स नै खाली गरिदिएका थिए ।

‘बीच्च बीच्चमा’ बोलको तिजगीतबाट चर्चामा आएका थापा यसअघि चलचित्र ‘छ माया छपक्कै’ को प्रवर्द्धनात्मक गीत गाउँदा समेत विवादमा मुछिएका थिए ।

Leave a Reply