सुरक्षाको ‘बुलाकी’को छायाँकन डोल्पामा

अभिनेत्री सुरक्षा पन्तको मुख्य भूमिका रहेको चलचित्र ‘बुलाकी’को धमाधम छायांकन भइरहेको छ । अहिले चलचित्रको डोल्पाका विभिन्न रमणीय स्थानमा छायांकन भइरहेको छ। यो चलचित्रको हालसम्म ३५ प्रतिशत छायांकन सकिएको निर्माणपक्षले बताएको छ । चलचित्रको छायांकनका लागि तिहारअघि नै यसको निर्माणपक्षले डोल्पा पुगेको हो ।

छत्रेश्वरी म्यानेजमेन्ट प्रालिको ब्यानरमा मोती बिष्टको प्रस्तुति र गोपाल बिष्ट निर्माता रहेको यो चलचित्रलाई लक्ष्मण सुनारले निर्देशन गरिरहेका छन् । भने सह-निर्मातामा प्रकाश कँडेल (सौगात) छन् । जारी प्रथामाथि आधारित भएर निर्माण भएको चलचित्रको मुल कथा नै सुरक्षाको वरीपरी घुम्नेछ । यो चलचित्रमा सुरक्षासंगै नरेन खड्का, विराज बिष्ट, प्रकाश कँडेल, सरस्वती खत्री लगायतका कलाकार पनि प्रमुख भूमिकामा छन् ।

शिव ढकालले खिच्ने चलचित्रको गीतमा श्रीकृष्ण बल मल्लको संगीत र शिव परीयार/प्रविशा अधिकारीको गायन रहनेछ । निर्देशक सुनारले ‘बुलाकी’ लाई आर्ट र कमर्शियलको ‘फ्यूजन’ को रुपमा बनिरहेको बताएका छन् । चलचित्रले नेपाली समाजभित्रको अँध्यारो पाटोलाई देखाउने बताउँदै उनले जारी प्रथा (कुप्रथा) को विषयमा अध्ययन गर्न आफूले लामो समय खर्चेको पनि बताएका छन् ।

रसुवा लगायतका क्षेत्रमा तामाङ समुदायका महिलाले पुनर्विवाह गर्न चाहेमा उनीहरुको पहिलो श्रीमानलाई जारी बापतको रकम तिर्नुपर्ने सामाजिक नियम अझै पनि रहँदै आएको छ । अर्थात् महिलाहरु किनबेच हुने गरेका छन् । चलचित्रले यही विषयलाई उठान गर्न लागेको हो । अभिनेता नरेन खड्काले पहिलो पटक चलचित्रमा आफूले फरक भूमिकामा अभिनय गर्न लागेको बताएका छन् ।

Leave a Reply