सरकारले एक हप्ताभित्र सिनेमा घर खोल्न दिने निर्णय गर्नेछ:बोर्ड अध्यक्ष दाहाल(भिडियो)

चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले एक हप्ताभित्र सरकारले हल खोल्न अनुमति दिने बताएका छन् । संघले सरकारी पक्षसँग ७ महिनादेखि विभिन्न माग राखेपनि कुनै सुनुवाइ नभएको भन्दै जस्तोसुकै परिस्थितिको सामना गरेर भएपनि अब हल खोलेरै छाड्ने निर्णय गरको थियो । मंगलबार राजु अधिकारी निर्देशित सिनेमा ‘माया बस्छ कि के हो’को पोस्टर तथा गीत सार्वजनिक कार्यक्रममा उनले हल खोल्न सरकार सकारात्मक रहेको बताएका हुन् ।

उनले अब एक हप्ताभित्र नेपाल सरकारका प्रवक्ता तथा सञ्चार मन्त्री पार्वत गुरुङले हल सञ्चालक तथा वितरकसँगको सल्लाहमा हल खोल्न अनुमति दिने बताए । नेपाल चलचित्र संघले सोमबार पत्रकार सम्मेलन गर्दै एकतर्फी रुपमा पौष १० गते देखि हल खोल्ने निर्णय गर्याे । बारम्बार अनुरोध गर्दा पनि सरकारले हल खोल्न अनुमति नदिएपछि आन्दोलनमा उत्रिने बताइएको थियो । तर हालै मन्त्री परिषद्ले सिनेमा छायांकनको लागि अनुमति दिने निर्णय गरेको छ । त्यस्तै, हल खोल्ने विषयमा पनि सरकार सकारात्मक रहेको बुझिएको छ ।

कार्यक्रममा बोल्दै उनले भने ‘म आफैँ धेरै समयदेखि हल खोल्नुपर्छ भनेर सञ्चारमन्त्रीदेखि प्रधानमन्त्रीसम्म कुरा पुर्‍याएको हुँ’, उनले थपे, ‘अब हल खोल्नुपर्छ । हल खोल्नुको कुनै विकल्प छैन ।’ तर, हतारमा निर्णय गर्दा कतिपय कुरामा चुक्नुपर्ने भएकाले यस विषयमा गम्भीर भएर निर्णय गर्न लागिएको उनको भनाइ छ । ‘हल खोल्नुपर्छ । यस विषयमा चलचित्र संघ, चलचित्र निर्माता संघ लगायत सबैले गम्भीर भएर छलफल गरी निष्कर्ष निकाल्नुपर्छ भनेर पहिलैदेखि भनिराखेको थिएँ,’ उनले थपे, ‘कतिपय मिडियामा सरकारी पक्षबाट मागको सम्बोधन भएन । बोर्डले केही गरेन भनेर समाचार आइरहेको छ । केही ढिला भएको त हो, तर त्यसरी चासो नै नदिएको भन्न चाहिँ मिल्दैन ।’

Leave a Reply