‘२ नम्बरी’को नयाँ भर्सन प्रदर्शन हुने

दशैंको अवसरमा गत असोज २१ बाट प्रदर्शनमा आएको निर्देशक दिपेन्द्र लामाको लेखन तथा निर्देशनमा निर्माण भएको चलचित्र ‘२ नम्बरी’ अब नयाँ भर्सनमा प्रदर्शन हुने भएको छ । दर्शकले चलचित्र प्रदर्शन भएको तेश्रो हप्तामा नयाँ भर्सनमा हेर्न पाउने भएको छ । २ घन्टा ७ मिनेट लम्बाईको चलचित्रलाई निर्माण पक्षले ५ मिनेटभन्दा बढी काँटछाँट गरेको छ । शुक्रवारबाट हलमा चलचित्रको नयाँ भर्सन प्रदर्शन हुने निर्माता किरण नेपालीले जानकारी दिए । निर्माता नेपालीले चलचित्रको साउन्ड र सिन समेत काँटछाँट गरेर नयाँ भर्सनमा ल्याउन लागेको जानकारी दिए ।

चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, उगेन छोदेन (भुटानी अभिनेत्री), उपासना सिंह ठकुरी र बुद्धि तामाङको मुख्य भूमिका रहेको छ । चलचित्रमा दयाहाङ र उगेन तथा सौगात र उपासनाको जोडी बाँधिएको छ । चलचित्रको सम्पूर्ण कास्कीको छायांकन ल्वाङ गाउँमा भएको हो । चलचित्रले पहिलो सप्ताहमा मुनाफा कमाइसकेकोले निर्माण टिमले प्राविधिकहरुलाई बोनस बाँड्ने निर्णय पनि गरेको छ । बोनस रकम कति दिने भन्नेबारेमा केही फाइनल भएको छैन ।

एउटा सुन्दर गाउँका २ जना साथी, उनीहरुको मित्रता र दुश्मनीको कथा भन्ने चलचित्र ‘२ नम्बरी’ले समाजमा हुने गरेका २ नम्बरी कामलाई पनि उठान गरेको छ । रेड बर्ड प्रोडक्शन र आरआर फिल्म प्रोडक्शनको ब्यानरमा निर्माण भएको चलचित्रमा कार्यकारी निर्माताको रुपमा किरण नेपाली छन् । चलचित्रमा गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे) र अमलादेवी राईको लगानी छ । भने, कार्यकारी निर्माता सरोज नेपाली हुन् । चलचित्रमा सुशन प्रजापतिको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी रहेको छ ।

Leave a Reply