चैत्यदेवी, साम्राज्ञी, केकी, उपासनासहित ९ नायिकालाई ‘राष्ट्रिय नवदुर्गा सम्मान’

अघिल्लो र पछिल्लो पुस्ताका ९ जना अभिनेत्रीहरुलाई ‘राष्ट्रिय नवदुर्गा सम्मान’ बाट सम्मानित गरिएको छ । बिहीबार घटस्थापनाको दिन नेपाली चलचित्रका ९ जना नायिकाहरु ‘राष्ट्रिय नवदुर्गा सम्मान’बाट सम्मानित भएका हुन् ।

नायिका रेजिना उप्रेतीको ‘रेजिना ईन्टरटेन्मेन्ट प्रा.ली’ र बिमला केसीको ‘सहिद फिल्मस् प्रा.ली’ले चलचित्र विकास बोर्डको सभाहलमा ‘दोस्रो राष्ट्रिय नवदुर्गा सम्मान–२०७८’ आयोजना गर्दै पुराना देखि नयाँ ९ जना नायिकाहरुलाई सम्मान गरेको हो ।

सम्मानित हुनेमा नेपाली पहिलो रंगीन चलचित्रकी नायिका चैत्यदेवी सिंहदेखि शर्मीला मल्ल, मौसमी मल्ल र लक्ष्मी गिरी छन् । त्यस्तै, पछिल्लो पुस्ताका अभिनेत्रीहरु केकी अधिकारी, सुरक्षा पन्त, नीता ढुंगाना, साम्राज्ञी राज्यलक्ष्मी शाह र उपासना सिंह ठकुरी पनि सम्मानित भएका छन् । कलाकारिताको माध्यमबाट नेपाली फिल्म क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै उनीहरुलाई सम्मान गरिएको हो ।

२०७६ सालमा पहिलो पटक आयोजना गरिएको ‘राष्ट्रिय नवदुर्गा सम्मान’ गत वर्ष कोरोनाका कारण हुन सकेको थिए ।

कार्यक्रममा बोल्ने क्रममा ऊर्जामन्त्री भुसालले समावेशिताका कारण राज्यका सबै क्षेत्रमा महिलाको सहभागिता बढेको बताउँदै कोरोना महामारीका कारण नेपाली फिल्म क्षेत्रमा देखिएका समस्या समाधान गर्न सक्दो प्रयास गर्ने प्रतिबद्धता जनाएकी छन् । ‘नवदुर्गा सम्मान’ बाट सम्मानित हुने ९ जना अभिनेत्रीहरुले अभिनय गरेका एक–एकवटा फिल्मका गीतमा अन्य कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए ।

Leave a Reply