‘सेन्टी भाइरस’ को दोस्रो ‘आफ्नो पार्टी जिताइदे’ गीत सार्वजनिक (भिडियो)

हास्यकलाकार जोडी सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ को निर्माण र अभिनय रहेको चलचित्र ‘सेन्टी भाइरस’ को दोस्रो गीत सार्वजनिक भएको छ । आइतबार सार्वजनिक गरिएको ‘आफ्नो पार्टी जिताइदे’ बोलको गीतमा प्रमोद खरेल र विद्या मञ्जु तिवारीको स्वर रहेको छ ।

हर्क साउदको शब्द रहेको गीतमा सुशान्त गौतमले सङ्गीत भरेका छन् । केही दिन अगाडि मात्र चितवनमा निर्माणाधिन  ‘अन्तर्राष्ट्रिय गौतम बुद्ध क्रिकेट रंगशाला’ मा छायांकन गरिएको गीतको भिडियोमा विल्सन विक्रम राई, कुन्जना घिमिरे, सन्दिप छेत्री, पुष्प आचार्य, मधुसूदन पाठक, सन्जु शाह, अलिश राई लगायत फिचर्ड छन् । गीतको भिडियोलाई अलिश राईले कोरियोग्राफी गरेका हुन् भने दीपक आचार्यले निर्देशन गरेका हुन् । दुई फरक पार्टीका नेता तथा कार्यकर्ताबीचको राजनैतिक प्रतिस्पर्धा गीतमा व्यङ्ग्यात्मक तरिकाले देखाइएको  छ ।

रामबाबु गुरुङको निर्देशनमा रहेको चलचित्रमा सिताराम र कुञ्जनाका अलावा दयाहाङ राई, राजाराम पौडेल, विल्सन विक्रम राई, बुद्धि तामाङ, कमलमणी नेपाल, सूर्यमाला खनाललगायतका कलाकारहरुको पनि अभिनय छ । रुपाकोट र पोखरामा छायांकन भएको चलचित्र सामाजिक व्यंग्यमा निर्माण भएको बताइएको छ । चलचित्रको सम्पूर्ण दृश्य शैलेन्द्र डि. कार्कीले खिचेका हुन् ।

‘सेन्टी भाइरस’ बाट पहिलो पटक ‘धुर्मुस-सुन्तली’ चलचित्र निर्माणमा होमिएका हुन् । उनीहरुको होम प्रोडक्सन कम्पनी सुबिहानी फिल्मस् प्रा.लीको ब्यानरमा निर्माण भएको यस चलचित्रलाई डिन्डु लामा ह्योल्मोले निर्माण गरेकी हुन् भने सह-निर्मातामा फूर्पा लामा रहेका छन् ।‘सेन्टी भाइरस’मा शंकर थापा स्माइल, राजनराज सिवाकोटी र कालीप्रसाद बास्कोटाको सङ्गीत, निमेष श्रेष्ठको सम्पादन, कुमार कट्टेल र दीपक आचार्यको लेखन रहेको छ ।

२ करोडको लागतमा बनेको चलचित्र फागुन ९ गते (महाशिवरात्री) मा नेपालभर प्रदर्शन हुँदै छ । केही समय अघि सार्वजनिक गरिएको चलचित्रको ‘फनफनी’ बोलको गीतले पनि राम्रो प्रतिक्रिया पाइरहेको छ ।

Leave a Reply