‘रुदाने : विद्रोहको नेपाली नाम’को टिजर सार्वजनिक(भिडियो)

चलचित्र ‘रुदाने :विद्रोहको नेपाली नाम’को टिजर सार्वजनिक भएको छ । रुपचन्द्र विष्टको जीवनीमा आधारित ‘थाहा’ आन्दोलका प्रणेता स्वं. रुपचन्द्र विष्ट ‘रुदाने’ को जीवनीमा आधारित भएर निर्माण भएको चलचित्रमा दिव्य देवले रुपचन्द्रको भूमिका निभाएका छन् ।

बुधबार टिजर सार्वजनिक गर्दै २०२२ को मध्यसम्ममा चलचित्र रिलिज गर्ने निर्माण पक्षले जनाएको छ । २ मिनेट ३३ सेकेण्ड लामो टिजरमा रुपचन्द्र विष्टको चरित्र-चित्रण गरिएको छ र टिजर संवादविहीन छ । यो चलचित्र चार वर्ष अगाडि नै निर्माण भएको थियो ।

अमित किशोर सुवेदी र विकास ढकालको लेखन तथा निर्देशन रहेको चलचित्रमा नम्रता श्रेष्ठ, रवि गिरि, सुभाष गजुरेल, अमर सुवेदी लगायतका कलाकारहरुको पनि अभिनय छ । शान्ता राओको छायांकन, निमेश श्रेष्ठको सम्पादन र जेसन कुँवरको संगीत रहेको चलचित्रमा जागृत रायमाझी कार्यकारी निर्माता र भानुभक्त थापा सह-निर्माता छन् ।

को हुन् ‘रुदाने’ ?

बाबु पदमबहादुर विष्ट र आमा चित्रकुमारीको कोखबाट वि.स. १९९० पौष २६ मा मकवानपुरमा जन्मिएका उनी चेतना फैलाउने जनबादी नेता थिए । उनले ०२९ र ३० सालतिर ‘थाहा’ आन्दोलन सुरू गरेका थिए । उनी चट्टान, भित्ता, पर्खाल, रूखदेखि खाली कागज र चुरोटको बट्टासम्म ‘थाहा’ लेख्दै हिँड्थे । उनी २०२८ सालमा स्नातक कोटामा राष्ट्रिय पञ्चायत सदस्य समेत भएका थिए ।

उनले तीन दशक ‘थाहा’ आन्दोलनको नेतृत्व गरे । यस आन्दोलनको उद्देश्य थियो, ‘चेतनाहीन जनताको चेतनासम्पन्न नागरिकमा रूपान्तरणमार्फत राजनैतिक र सामाजिक जागरण ल्याउनु ।’ जीवनको उतार्धमा उनले सहयोगीहरुलाई आफ्नो मृत शरीरमा अविर-माला नलगाउन, काजक्रिया नगर्न र लासको राजनीति नगर्न भनेका थिए । उनको मृत्यु २०५६ असार ७ गते भएको थियो ।

नेपाल चलचित्र संघले यही असोज २१ गते घटस्थापनाबाट देशभरका सिनेमा हल खुलाउने निर्णय गरेसँगै निर्माण सकेर बसेका र छायांकनरत चलचित्रले प्रदर्शन मिति घोषणा गर्न थालेका छन् ।

टिजर हेर्नुहोस् :-

Leave a Reply