सन्दीप लामिछानेले ट्रिनवागो नाइट राइडर्सबाट सिपिएल खेल्ने

नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पीनर सन्दीप लामिछानेले २०२१ को क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी-२० क्रिकेट नयाँ क्लबबाट खेल्ने भएका छन् । साबिक विजेता ट्रिनवागो नाइट राइडर्सबाट सन्दीपले नयाँ सिजन खेल्ने भएका हुन् । सीसीएलले मंगलबार सन्दीपले ट्रिनवागोबाट खेल्ने पुष्टि गरेको हो । ट्रिनवागोले गत सिजन उपाधि जितेको टिमका ११ खेलाडीलाई रिटेन गरिसकेको छ ।

ट्रिनवागो इन्डियन प्रिमियर लिग फ्रेन्चाइज कोलकता नाइट राइडर्सको टिम हो । कोलकताकै मालिक बलिउड स्टार शाहरुख खान, जे मेहता र जुही चावला यसका मालिक हुन् । यस्तै प्रशिक्षकमा ब्रेन्डन म्याकुलम छन् । यसअघि तीन फरक टोलीबाट सीपीएल खेलिसकेका सन्दीपलाई जमैका तल्हवाजले नयाँ सिजनअघि रिलिज गरेको थियो । त्यसअघि उनले सेन्ट किट्स एण्ड नेभिस र बार्बाडोस ट्रिडेन्ट्सबाट खेलिसकेका छन् । सन्दीपले गत सिजन १ खेल खेल्दै १२ विकेट लिएका थिए । सीपीएलको नवौं संस्करण अगष्ट २८ देखि सेप्टेम्बर १९ सम्म सेन्ट किट्स एण्ड नेभिसमा हुनेछ । सन्दीप इंग्ल्याण्डमा हुने भाइटालिटी टी२० ब्लास्ट र दी हन्ड्रेडका लागि पनि अनुबन्धित भएका छन् । भाइटालिटी जुन ९ देखि र दी हन्ड्रेड जुलाई २१ देखि सुरु हुनेछ ।

Leave a Reply