भारतबाट नेपालमा पाँच बुलेट अक्सिजन ग्यास भित्रियो

दोस्रो चरणको कोरोना संक्रमण बढेपछि अक्सिजन ग्यासको अभाव हुन नदिन उद्योगीहरुले भारतबाट वीरगञ्जको बाटो गरी ठूलो सानो गरी पाँच वटा बुलेट नेपाल भित्र्याएका छन् । काठमाडौंको शङ्कर ग्यास उद्योगले भारतबाट लिक्विड अक्सिजनको बुलेट नेपाल भित्र्याएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । अक्सिजन ग्यास उद्योगीले भारतको झारखण्ड प्रान्तको जमशेदपुरबाट ल्याएका हुन् । उद्योगले लिक्विड अक्सिजन ल्याएर अस्पताललाई दिने गर्छ । उद्योगसँग दुई वटा मात्रै लिक्विड अक्सिजन बोक्ने बुलेट छ । लिक्विड अक्सिजनको ट्याङ्कर उपत्यकामा ट्रमा सेन्टर र टेकु अस्पतालमा मात्रै रहेको छ । बुलेटमा ल्याइएको अक्सिजन ट्याङ्कमा खन्याउने गरिन्छ । वीरगञ्ज नाकाबाट यही जेठ १ गतेदेखि लिक्विड अक्सिजनसहितको बुलेट आएको बताइएको छ ।

वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी भन्सार अधिकृत शैलेन्द्र अधिकारीका अनुसार रक्सौल-वीरगञ्ज नाका भएर हालसम्म एउटा सानो र चार वटा ठूलो बुलेट नेपाल भित्रिएका छन् । तीन लटमा आएको अक्सिजन ग्यास पहिलो लटमा ११ हजार ५५० एमटिक्यू , दोस्रोमा चार हजार ८७४ एमटिक्यू र तेस्रोमा १२ हजार ५७४ एमटिक्यू आएको बताइएको छ ।

एक घनमिटरको मूल्य भारु १६ दरमा अक्सिजन खरिद गरी नेपाल ल्याइएको अधिकारीले जानकारी दिए । कोरोना संक्रमण बढ्दै गएको र बिरामीलाई अक्सिजनको अभाव हुन थालेपछि सङ्घीय सरकारले हाल अक्सिजन बुलेट आयातमा भन्सार शुल्क शून्य बनाएको छ । भारतबाट नेपाल भित्रिँदा एउटा बुलेटमा प्रवेश शुल्क ५६५ रुपैयाँ लाग्ने गर्छ । नेपाल-भारत दुवै देशका अधिकारीले सहमति दिएपछि उद्योगीहरुले अक्सिजन ग्यासको बुलेट नेपालमा ल्याउन शुरु गरेको भन्सार कार्यालयका अधिकारीहरुले बताएका छन् ।

हाल नेपालमा कोरोना भाइरसको दोस्रो लहर फैलिएर बिरामीहरु अक्सिजनको अभावमा मर्न थालेपछि यसलाई रोक्न तथा अक्सिजनको अभाव नहोस् भनेर उद्योगीहरुले भारतबाट अक्सिजन ग्यास ल्याउने गरेका हुन् । पर्सा जिल्लामा रहेका तीन वटा अक्सिजन उद्योगले आफैँ ग्यास प्लान्टबाट अक्सिजन उत्पादन गरी वितरण गर्दै आएका छन् । यी उद्योगले पनि भारतबाट तयारी लिक्विड अक्सिजन ल्याएर सिलिन्डरमा भर्ने हो भने यस भेगमा अक्सिजनको अभाव नहुने विज्ञहरु बताउछन् ।-रासस

Leave a Reply