सत्य समेट्ने प्रतिबद्धता गर्दछौँ !

सम्पादकीय । आज विशेष दिन छ । आज राष्ट्रिय चलचित्र पत्रकारिता दिवश हो । आजको दिनको अवसरमा कोरीबाटी परिवारको तर्फबाट सम्पुर्ण चलचित्र पत्रकार तथा शुभेच्छुकहरुलाई शुभकामना व्यक्त गर्दछौँ ।

चलचित्र पत्रकारिकता औपचारिकरुपमा २२ बर्ष पुरा गरेर २३औँ बर्षमा प्रवेश गरेको छ तर पनि चलचित्र पत्रकारिताले अझै पनि मुलधारको पत्रकारिताको हैसियत पाइसकेको छैन । गसिप वा फिल्म भित्रका समाचारलाई वास्तविक जीवनमा जोडेर लेखिने अतिरञ्जनात्मक खबरहरु मात्रै चलचित्र पत्रकारिता भित्र समेटिए जस्तो देखिन्छ । यसले गर्दा समग्र चलचित्र पत्रकारिता नै हलुका र बसिबियालो भन्दा माथि उक्लन सकेको छैन ।

चलचित्र भनेको मनोरञ्जनको साधन मात्रै हो भन्ने एकाङ्गी मानसिकताबाट समाज उठेको धेरै भइसक्यो । चलचित्रबाट विज्ञान, साहित्य र प्रविधिको विकाश मात्रै हुने होइन, संस्कृति र रचनात्मकताको श्रीवृदि पनि हुन्छ भन्ने कुरामा सायदै दुइमत होला । न चलचित्र मनोरञ्जन मात्रै हो, न कलाकारहरु देशका गहना मात्रै हुन्, बरु चलचित्र देशको अनुहार हो र कलाकारहरु देशका अंग । यो धारणा सुस्तरी भए पनि बढ्दैछ । योसँगै चलचित्र क्षेत्र उद्योगका रुपमा विकाश हुने क्रममा छ । जति चलचित्र उद्योगको वृदि विकाश हुन्छ, उति नै यो क्षेत्रको खबर र आलोचनाको महत्व पनि बढ्दै जान्छ । खबर मार्फत फैलिन र आलोचनामार्फत सुध्रिने मौका पनि पाउँछ । खबर र आलोचना मार्फत चलचित्र, ग्लामर र कलाकारहरुलाई समाजसँग जोड्ने काम चलचित्र पत्रकारिकताकै हुन्छ र हुनु पर्छ ।

दुई दशक नाघेको चलचित्र पत्रकारितालाई कोरीबाटीले नजिकबाट महसुस गरेको छ । कोरीबाटीले एउटा मिडियाका रुपमा आफ्नो जिम्मेवारी पुरा गर्दै व्यवसायीक र सम्मानजनक भुमिका पुरा गर्नेछ । चलचित्र पत्रकारिताको विशाल ‘इकोसिस्टम’मा कोरीबाटीको उपस्थिति पक्कै पनि सानो तर महत्वपुर्ण बनाउनेमा हाम्रो टिम कटिबद्ध रहनेछ । हामी मिडियाका रुपमा यो क्षेत्रको सम्मान, श्रीवृद्धि र व्यवसायीकतामा कसैसँग पनि सम्झौता नगर्ने प्रतिबद्धता व्यक्त गर्दछौँ ।

र, आज राष्ट्रिय चलचित्र पत्रकारिता दिवशको उपलक्ष्यमा कोरीबाटी नयाँ कलेवरमा उपस्थित भएको जानकारी गराउन पाउँदा गर्व महसुस गरेका छौँ । चलचित्रकर्मी, कलाकार लगायत सम्पुर्ण शुभेच्छुक तथा विज्ञापनदाताहरुप्रति यहाँसम्म आइपुग्न दिनु भएको साथ सहयोगका लागि आभार प्रकट गर्दै अबको बाटोमा थप साथ सहयोगको अपेक्षा गर्दछौँ । हामी सबैको जय होस् ।

Leave a Reply