आज देखि सुरु भयो नवौँ ‘नेपाल मानव अधिकार चलचित्र महोत्सव’

मानव अधिकार चलचित्र केन्द्रको आयोजनामा नवौं ‘नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय भर्चुअल्ली चलचित्र महोत्सव’ आजबाट सुरु भएको छ । उक्त महोत्सव यही मंसिर ६ देखि ९ गते (२२ देखि २५ नोभेम्बर) सम्म हुने छ ।

केन्द्रले प्रत्येक वर्ष ‘नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ को आयोजना गर्दै आएको भए पनि कोरोनाका कारण गत वर्षझैँ यसपाली पनि भर्चुअलको माध्यमबाट महोत्सव हुन लागेको हो ।

महोत्सवमा २४ देशका ४२ वटा स्वदेशी तथा विदेशी फिचर फिल्म, वृत्तचित्र, छोटा फिल्मका साथै सबै विधाका फिल्महरु देखाइने छ । महोत्सवमा देखाइने फिल्महरु आवेदन परेका मध्येबाट उत्कृष्टहरु प्रदर्शनको लागि छनोट गरिएको महोत्सवका निर्देशक पाण्डव खत्रीले जानकारी दिए । 9nhriff.muvi.com वेभसाइट लग इन गरेर महोत्सवमा प्रदर्शन हुने फिल्महरु हेर्न सकिनेछ ।

महोत्सवमा मानव अधिकारकर्मी र कलाकर्मीहरुसँग अन्तरक्रिया, प्लानल डिस्कशन लगायतका कार्यक्रमहरु पनि राखिएको छ । महोत्सवमा ‘मानव अधिकार र न्यायका लागि वातावरण’, ‘मानव अधिकारमा कोरोनाको प्रभाव’, ‘महिला विरुद्ध हुने हिंसा रोक्न, सशक्तिकरण, अधिकार र समावेशीकरणमा सिनेमाको भूमिका’ जस्ता विषयहरुमा पनि अन्तरक्रिया हुने विज्ञप्तीमा उल्लेख छ ।

त्यस्तै, ओटीटीमा नेपाली फिल्म कसरी पुर्‍याउने ? बारे मास्टरक्लासको पनि आयोजना गरिने मानव अधिकार चलचित्र केन्द्रका निर्देशक खत्रीले बताए । महोत्सवमा अन्तर्राष्ट्रिय बिधाका फिल्मको प्रदर्शन मात्र गरिने छ भने नेपाली बिधाका फिल्महरुको भने प्रतिस्पर्धा हुनेछ । जसमा उत्कृष्ट फिक्शन, उत्कृष्ट बृत्तचित्र र उत्कृष्ट महिला फिल्मकर्मी छनौट गरि पुरस्कार घोषणा गरिनेछ ।

Leave a Reply