प्रश्नहरुको कारखाना लिएर सरिता

काठमाडौं – कवि सरिता तिवारी तेस्रो कविता संग्रह ‘प्रश्नहरूको कारखाना’ सहित आएकी छन् । शुक्रबारको उनको नयाँ कृतिको राजधानीमा कवि तथा लेखक आहुति र समालोचक ज्ञानु अधिकारीले लोकार्पण गरे । चितवनमा स्थायी बसोबास भएपनि सरिता काठमाडौंमा पढिने र सुनिने कवि हुन् । ‘क्रियाशील महिला कविहरूमध्ये सबै भन्दाअग्रपंक्तिमा आउने कवि हुन्, सरिता तिवारीको कविता संग्रहमाथि टिप्पणी गर्दै आहुतिले भने, ‘पुरुष कविसँग प्रतिस्पर्धा गरेर लेख्न हाम्रोमा अनेकौं कारणले महिला स्रष्टाहरूलाई मुस्किल छ । खुसीको कुरा के हो भने, अहिले केही महिला कविहरू सशक्त ढंगले आइरहेकी छन् । सरिताजी ती थोरै महिला स्रष्टामा पर्नुहुन्छ ।’ ‘वर्तमान सामाजिक संरचनामा सरिताले आफूलाई यसरी शक्तिशाली ढंगले उभ्याइरहनु चुनौतीपूर्ण पनि छ,’ उनले भने, ‘उत्पीडित समुदायका पक्षमा उनको लेखन निकै सशक्त छ ।’ ज्ञानु अधिकारीले चाहिँ माक्र्सवादी झुकाव र नारीवाद प्रभाव उनका कवितामा पाइने दाबी गरिन् ।
‘उनका कविताहरू कलात्मक दृष्टिकोणले उत्कृष्ट र विचारका दृष्टिले स्पष्ट छन्,’ उनले भनिन् । पुस्तक सांग्रिला बुक्सले छापेको हो । लोकार्पण समारोहमा शिल्पी थिएटरका कलाकारले तिवारीका दुई कविता ‘विजेता’ र ‘आदिवासी’लाई नाट्य रूपमा मञ्चन गरेका थिए । तिवारीका यसअघि ‘बुद्ध र लाभाहरू’ र ‘ अस्तित्वको घोषणापत्र’कविता कृति प्रकाशित छन् । (आजको कान्तिपुर दैनिकबाट)

Leave a Reply