१० महिनापछि आजबाट सिनेमा हल खुल्न लाग्दा केकी अधिकारी भावुक

सरकारले चलचित्र क्षेत्रलाई वेवास्था गरेको भन्दै गएको हप्ता नेपाल चलचित्र संघले पुष १० गतेबाट सिनेमा हल खोल्ने घोषणा गरेको थियो । सरकारले सिनेमा हल खोल्ने विषयमा कुनै निर्णय नगरे पनि हल व्यवसायीहरुले आज शुक्रवारबाट सिनेमा खल खोल्दैछन् । १० महिनापछि खुल्न लागेको सिनेमा हलमा शुक्रवारबाट प्रदर्शनकै क्रममा रोकिएका दुई फिल्म ‘आमा’ र ‘सेन्टी भाइरस’ पुनः प्रदर्शन हुँदैछन् । यस्तै शुक्रबारदेखी हल खुल्ने भएपछि अभिनेत्री केकी अधिकारीले आफू भावुक र पुकलित भएको बताएकी छन् । बिहीबार उनले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै आफ्नो लागि चलचित्र भवन कार्यालय, विद्यालय र मन्दिर रहेको उल्लेख गरेकी छन् । उनले लेखेकी छन्, ‘मेरो आयस्रोत, मेरो ज्ञान र मैले प्राप्त गर्ने आशिषको मूल थलो धेरै समयदेखि बन्द थियो ।’

‘शुक्रबार पौष १० गतेदेखि चलचित्र भवनहरु खुल्दैछन् । थोरै भावुक छु । थोरै पुकलित छु । जीवनका रंगहरु फर्किने कुरामा विश्वस्त पनि छु । त्यो विशाल पर्दामा आफ्नो नजर केन्द्रित गरेर कुनै पल गलल सयौँ दर्शकहरुसँगै हाँस्न त कहिले दृश्यमा डुबेर स्तब्ध भई सुक्क आँशु झार्न ब्यग्र प्रतिक्षा गर्दैछु । चलचित्र भवनभित्र मात्रै प्राप्त गर्न सकिने ती जादूमयी अनुभवको अवसर एउटा लामो अन्तरालपछि फेरि मिल्दैछ,’ उनले लेखेकी छन् ।

Leave a Reply