मिलनको ‘गोर्खा वारियर’ मा दयाहाङ, बुद्धि र वर्षादेखि प्रशान्तसम्म

यस वर्षको जेठमा प्रदर्शनमा आएको चलचित्र ‘वीर विक्रम २’ पछि निर्देशक मिलन चाम्स नयाँ चलचित्रको तयारीमा जुटेका छन् । उनले वीर गोर्खालीको कथामा चलचित्र ‘गोर्खा वारियर’ निर्माण गर्ने भएका छन् । निर्देशक चाम्सको यो ड्रिम प्रोजेक्ट हो । लन्डन सिने आइ प्रोडक्सनको ब्यानरमा निर्माण हुने चलचित्रको कथा प्रदिप भारद्वाजले लेखेका हुन् । चाँडै छायांकन सुरु हुने चलचित्रको अहिलेदेखि नै प्रचार-प्रसार सुरु गरिएको छ ।

सन् २०२१ मा विश्वभर प्रदर्शन हुने चलचित्रमा दयाहाङ राई, प्रशान्त तामाङ, वर्षा सिवाकोटी, बुद्धि तामाङ, विजय लामा, माओत्से गुरुङ, कविता आले, रुपा पुनसँगै हलिउड कलाकारहरुको पनि अभिनय रहनेछ । यो चलचित्रबाट प्रशान्तले ‘परदेशी’ रिलिजको ४ वर्षपछि नेपाली फिल्ममा कमब्याक गर्ने भएका छन् । त्यस्तै, यस चलचित्रबाट रितेश चाम्सले नायकको रुपमा डेब्यू गर्दैछन् ।

५० प्रतिशत हलिउड प्राविधिकले काम गर्ने ‘गोर्खा वारियर’ नेपाली र अंग्रेजी भाषामा बन्ने निर्देशक चाम्सले जानकारी दिए । चलचित्र निर्माण भएपछि लण्डनमा विश्व प्रिमियर गरिने बताइएको छ । प्रिमियरमा दश हजार दर्शक भेला गराइने उद्येश्यले लण्डनमा पहिलो पटक डबल टेकर बसबाट अहिलेदेखि नै चलचित्रको प्रचार सुरु गरिएको छ ।

निर्देशक चाम्सले अहिले चलचित्रका लागि एक अभिनेत्रीको खोजी भैरहेको बताए । उनले नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन अहिलेदेखि नै लण्डनमा ५० वटा डबल टेकर बसबाट चलचित्रको प्रचार सुरु गरिएको जानकारी दिए । चलचित्रको यूके, अफगानिस्तान र नेपालमा छायांकन हुने बताइएको छ ।

Leave a Reply