‘तिम्रो मेरो साथ’को चितवनमा भव्य प्रिमियर सम्पन्न

भोलि शुक्रबारदेखि प्रदर्शनमा आउने चलचित्र ‘तिम्रो मेरो साथ’को चितवनमा भव्य प्रिमियर सम्पन्न भएको छ । सिनेप्लेक्स हलमा आयोजित प्रिमियरमा चलचित्रको मुख्य कलाकारहरु अभिनेताद्वय पुष्प खड्का, सन्दिप क्षेत्री, अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र निर्देशक रमेश एमके पौडेल उपस्थित थिए । लक्की मिडिया हाउसद्वारा आयोजित प्रिमियरमा चलचित्रको टिम केन्द्रमा रह्यो ।

प्रिमियरमा चितवन महानगरकी मेयर रेणु दाहालसहित दर्शकको बाक्लो उपस्थिति रह्यो । संघ संस्था र बिभिन्न क्षेत्रमा आवद्ध व्यक्तित्वहरुको आगमनले प्रिमियरमा रौनक थपेको थियो । चितवनको चिसोमा साम्राज्ञीको बोल्ड अन्दाजले माहोल गर्माएको थियो ।

प्रिमियरपछि लभस्टोरी चलचित्रलाई आगन्तुक पाहुनाले उत्कृष्ट भने । चलचित्रको कथाबस्तुले मन छोएको प्रतिक्रिया दिंदा निर्माण पक्ष हर्षित देखिन्थ्यो । प्रिमियरमा प्राप्त दर्शकको उत्कृष्ट प्रतिक्रियाले निर्माण पक्ष उत्साहित बनेको छ । शुक्रबारका लागि विभिन्न मल्टिप्लेक्समा चलचित्रको बुकिङ पनि खुल्ला भैसकेको छ ।

चलचित्रको टिम बुधबार दिउँसो चितवन पुगेको थियो । प्रिमियरअघि चलचित्रको टिम चितवन महोत्सवमा सहभागी भएका थिए। महोत्सवमा टिम पुग्दा चिसो माहोल गर्माएको थियो । उल्लेख्य दर्शक उपस्थिति रहेको महोत्सवमा निर्देशक रमेश एमके पौडेलसहितको टिमले मनोरंजन प्रदान गरेको थियो । ‘तिम्रो मेरो साथ’ टिमलाई आयोजकले कडा सेक्युरिटीका साथ स्टेजमा उतारेको थियो । साम्राज्ञी र पुष्पले नृत्यद्वारा दर्शकलाई मनोरंजन दिंदा सन्दीपले कमेडीका पन्चलाइनले दर्शक हँसाएका थिए ।

चलचित्रमा पुष्प साम्राज्ञी र सन्दिपसँगै इमिली लामा, सरोज खनाल, दिपिशा केसी, खड्क बहादुर पुन खबपु लगायतको मूख्य भूमिका रहेको छ । चलचित्रमा निर्देशक पौडेल स्वंयमको कथा, गीत र लगानी रहेको छ । साम्राज्ञी र पुष्पको ‘मारुनी’पछि यो दोस्रो सहकार्य हो । निर्माता रमेश एमके पौडेल निर्देशकीय डेव्यु चलचित्रले सेन्सर बोर्डमार्फत सबै उमेरका दर्शकले हेर्न मिल्ने गरी ‘यू सर्टिफिकेट’ पाएको छ ।

सबिर श्रेष्ठ र बाबुराम निरौलाको स्क्रिप्टमा निर्माण चलचित्रमा शिव ढकालको छायांकन, सुवाष भुषाल/योगेश काजीको संगीत, रामजी लामिछानेको कोरियोग्राफी र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ । सबिर श्रेष्ठको लेखन तथा कार्यकारी निर्माण रहेको चलचित्रमा पासाङ लामा, अर्नव पौडेल र आर्यन पौडेलको लगानी रहेको छ । चलचित्रको सहनिर्मातामा नीरु भण्डारी, अशोक पोखरेल, सुमन पौडेल र सुधिर पराजुली रहेका छन् ।

Leave a Reply