नेपाली फिल्म उद्योगका ‘कोरोना भाइरस’ यी हुन्, चिनौँ ।

लकडाउनमा हलहरु बन्द भए । नयाँ पुराना केहि फिल्महरु अनलाइन हेर्न सकिने गरि निशुल्क वा डिसहोमबाट घरघरमा टिभी मार्फत हेर्न सशुल्क व्यवस्थाहरु भए तर यी असाध्यै नगण्यरुपमा भए भने फिल्म क्षेत्रको गतिबिधि भने निकै ठुलो परिमाणमा अवरुद्ध भयो । यसो त लकडाउन अबधिमा पनि फिल्म क्षेत्रका मानिसहरुका बारेमा कुरा हुन भने छोडेनन् । दीपा श्री निरौलाको एउटा अन्तरवार्ताले सामाजिक सञ्जाल लामो समयसम्म तात्यो । राजेश हमाल महानायक हुन् वा होइनन् भन्ने बहस बढ्दै जाँदा अन्त्यमा राजेश हमाल स्वयमले फेसबुक मार्फत आफ्ना समर्थकहरुलाई सम्बोधन गर्नु पर्यो । योबाट त्यो विवाद मत्थर भएको देखिएको छ ।

योसँगै छिटफुटरुपमा कोरोनाको प्रभाव पछि फिल्म क्षेत्र कसरी अगाडी लाने वा लान सकिन्छ भन्ने बहस हुन थालेको छ । अब नेपाली फिल्मको भविष्य के होला भन्नेमा छलफल हुनु पक्कै पनि राम्रो हो । यहि छलफलमा धेरैको तर्क छ कि सरकार वा विकाश बोर्डले सहयोग गर्न पर्छ अनि मात्रै फिल्म क्षेत्र उठ्न सक्छ नत्र धेरैले यो क्षेत्रबाट नै पलायन हुनु पर्ने अवस्था आउँन सक्छ । यस्तै, देशका धेरै क्षेत्रहरुमा संकट परिरहेको अवस्थामा आवश्यकताको प्राथमिकतामा पछि पर्ने चलचित्र क्षेत्रमा सरकारको नजर नपर्ने हो कि भन्ने डर बोक्नेहरुको संख्या पनि कम छैन ।

तर के फिल्म क्षेत्र कोरोनो कहर भन्दा अगाडी एकदमै उम्दा थियो त ? या पहिले पनि समस्याग्रस्त थियो उद्योग ? कोरोना पछि के हुने भन्ने कुराको जवाफका लागि पनि कोरोना अगाडीको अवस्था के थियो ? समस्या के थिए ? भन्ने प्रश्नहरुको जवाफ खोज्नै पर्छ ।

कोरोनाको कहर अगाडीको फिल्म उद्योग
विगत केहि बर्षदेखि बार्षिकरुपमा औसत ८०-९० फिल्महरु बन्न थालेका थिए तर २०७६ सालमा जम्मा ५८ फिल्म मात्र रिलिज भएका थिए । कोरोनाको कहर सुरु नभएको भए ७६ सालमा कम्तिमा आधा दर्जन थप फिल्महरु रिलिज हुने क्रममा थिए । रिलिज भएका यी फिल्महरुले ४६-४७ करोडको कारोबार गरेका थिए । यो कारोबार २०७५ सालको भन्दा निकै कम हो । २०७५ सालमा १०१ वटा फिल्महरु रिलिज भएका थिए र ति फिल्महरुको व्यापार ६० करोडको आसपास थियो । २०७४ सालमा ८३ वटा फिल्म रिलिज हुदा नै व्यापार ८५ करोडको भएको थियो जबकी त्यो बर्ष दुई वटा चुनावले गर्दा करिव २ महिना फिल्म हलसम्म दर्शक जाने अवस्था नभएर नयाँ फिल्महरु रिलिज हुन सकेका थिएनन् । अनि, २०७३ सालमा भने ८९ फिल्महरु रिलिज भएका थिए र तिनको व्यापार कम्तिमा ५० करोडको थियो ।

बर्षमा औसत ९० फिल्म रिलिज हुने नेपाली फिल्म बजार २०७६ मा जम्मा ६४ फिल्म मात्रै रिलिज हुन सके । यसरी कम फिल्म रिलिज भएकाले फिल्मकर्मीहरु पनि कोरोना अगाडी नै फुर्सदिला भइसकेका थिए । क्यामरा, अन्य सामग्रीहरु तथा प्रि-प्रोडक्सन र पोस्ट प्रोडक्सनमा भ्याइ नभ्याइ हुने क्षेत्र पहिले भन्दा कम भइसकेको थियो । पहिले भन्दा झन्डै ३० प्रतिशत कम फिल्म बन्ने अवस्थामा काम पनि कम हुनु अस्वभाविक पनि होइन ।

व्यापार र दर्शकको फरक ट्रेन्ड
कोरोना भन्दा अगाडी नै फिल्म क्षेत्रमा सुस्तता छाउनुको कारण थियो, ९० वटा फिल्म बन्दा ९ वटा मात्रै फिल्मले लगानी उठाउनु अनि बाँकी ८० फिल्म चाहि फ्लप हुनु । बढ्दो महंगीसँगै फिल्म निर्माणको आर्थिक भार पनि बढेको छ । २०७३ सालमा ५० लाखमा बन्ने फिल्म बन्न २०७६ सालमा १ करोड भन्दा माथिको लगानी पुग्ने अवस्था बनेको थियो । यसमा कलाकारको पारिश्रमिक, विज्ञापन खर्च लगायतका कुराहरु झन्डै दोब्बरले बढेको छ । यसले फिल्म निर्माण झन् खर्चिलो र जोखिम पुर्ण हुदैछ । यहि कारण निर्माताहरु फिल्म बनाउन हच्किएका थिए ।

समयसँगै दर्शकहरु ट्रेन्ड पनि फेरिएको छ । पहिले जुनसुकै फिल्ममा पनि औसत दर्शकहरु आउँथे भने अहिले राम्रो फिल्ममा दर्शक तानिए पनि अन्य फिल्ममा पटक्कै दर्शक नआउँने गर्छन् । छक्कापञ्जाले २० करोड कमाउदा अरु बादशाहजुट, मिस्टर नेपाली जस्ता फिल्मले हलबाट एक लाख नि नकमाउने अवस्था बन्यो । पहिले पनि हिट फिल्मले राम्रो कमाइ गर्थे तर मध्यम व्यापार निकै फिल्महरुको हुने गर्थ्यो तर अहिले मध्यम व्यापार गर्ने फिल्महरुको संख्या नै एकदमै कम छ । बर्षमा पाँच सात फिल्मले मात्रै मध्यम व्यापार गर्छन् । अनि फिल्म बनाइरहने निर्माता पनि राम्रो टिम नबनुञ्जेल नयाँ फिल्म बनाउने हिम्मत गर्दैनन् ।

असफलताको वास्तविक कारणबाट भाग्ने निर्माताहरु
नेपाली फिल्महरुमा नयाँ प्रयोग वा कथाहरुको खोज लगायतका प्राबिधिक समस्याहरु छदैछन् । त्योसँगै साना मसिना कुराहरुमा विभाजित हुने, आरोप प्रत्यारोपमा उत्रिने हाल्ने अनि व्यापार भन्दा व्यक्तिगत इगोलाई प्राथमिकतामा राख्ने कारणले पनि फिल्महरु जुध्ने र व्यापार खस्किने भएको छ । त्योसँगै आफुआफुमा एकले अर्कोलाई सम्मान नगरेको देख्दा दर्शकका नजरमा पनि फिल्मकर्मीहरुप्रतिको सम्मान खस्कदो छ । यसको प्रत्यक्ष असर फिल्मको व्यापारमा देखिएको छ ।

दीपाश्री निरौलाको राजेश हमालका बारेमा दिएको सानो प्रतिक्रियासँगै झन्डै नेपाली फिल्मकर्मीहरु दुई भागमा बाँडिए । यसरी विभाजनको कारणहरु धेरै हुन सक्लान् तर यो कारण तत्कालिन प्रतिक्रियाको कारण मात्रै हो भन्ने सोच्नु भने गलत हुन जान्छ ।

अन्य सन्दर्भहरुलाई परै राखौँ, नेपाली फिल्मकर्मीहरु फिल्म क्षेत्रको विकाशका लागि पनि एकमत छैनन् । व्यक्तिपिच्छे फरक फरक धारणा छन् तर ति धारणाहरुका बारेमा स्वस्थ बहस र छलफल भएर दिर्घकालिन निष्कर्षहरु निकाल्ने जमर्को भने भएको छैन । धेरै जसो फिल्मकर्मीहरु आफ्नो फिल्म असफल हुनुको कारण आफ्नो फिल्मलाई मान्दैनन्, बरु सरकारको नीति, हलको गडबडी, अर्को निर्माताले फिल्म जुधाएर अथवा मिडियाले साथ नदिएर भन्ने तर्क गर्छन् । समिक्षकले खराब समिक्षा गरिदिएकाले फिल्म डुबेको भन्ने निर्माताहरुको संख्या पनि कम छैन नेपालमा ।

यसैले फिल्मकर्मीहरुले वास्तविक समस्या पहिचान गर्नु पर्यो । फिल्म बनाउँनु र चल्नु सामूहिक कुरा हो । यसका लागि सामूहिक प्रयास हुने पर्छ । मुख्य कुरा दर्शकलाई तान्न सक्ने फिल्म बनाउँने, आपसी सहकार्यमा जोड दिने र एकले अर्काको अस्तित्व स्विकार्दै सम्मानजनक व्यवहार गर्ने सामूहिक भावना र प्रयासको जरुरत छ । आफ्नो फिल्म फ्लप हुनु भन्दा अर्काको फिल्म हिट हुँदा बढि दुख मान्ने अवस्थाको अन्त्य नभएसम्म सामूहिक प्रयासको अभ्यास हुनै सक्दैन । सरकारले सहयोग गर्यो वा गरेन, विकाश बोर्डले ठिकसँग काम गर्यो या गरेन भन्ने फरक छलफलको बिषय हुन सक्ला । कोरोना पछि राज्यले फिल्म क्षेत्रलाई हेरिदिनु पर्छ भन्ने वकालतले पनि केहि सान्तवना देला तर यो दिर्घकालिनरुपमा चलचित्र क्षेत्रलाई उठाउने तरिका भने हुदैन । राज्यले एक पल्ट राहत देला तर त्यस पछिको अवस्था के ? यो सोच्नु पर्ने बिषय हो ।

दर्शकको रुचि चिनौँ र सम्बोधन गरौँ
अब नेपाली फिल्म चल्नका लागि हामीले परम्परागत अभ्यासहरु परिवर्तन गर्नु पर्छ । नेपाली भएर नेपाली फिल्मलाई माया गरौँ भन्ने नाराले मात्रै पनि अब नेपाली फिल्म क्षेत्रलाई धान्न सक्दैन । यस्ता भावनात्मक कुरामा भन्दा दर्शकको रुचि केमा छ भन्ने बढि ध्यान दिनु पर्नेछ ।

नेपाली फिल्मको इतिहासले नै देखाउँछ कि दर्शकको रुचि राम्रो फिल्ममा सँधै हुन्छ । चाहे आमा जस्तो सुस्त फिल्म होस् या जात्रै जात्रा जस्तो फास्ट होस् या कबड्डी जस्तो एउटा सानो समाजको कथा बोकेको होस् या छ माया छपक्कै जस्तो राजनीतिक फिल्म होस्, ति सबै चलेका फिल्महरु हुन् । फरक फरक बिधाका यी फिल्म चल्नुमा एउटा समानता छ, त्यो हो, यी सबै नेपाली परिवेशका कथामा घुम्छन् ।

यी फिल्महरुको व्यापारले हाम्रो उज्यालो भविष्य नै संकेत गर्छन् । नेपाली फिल्म उद्योगले हलिउड र बलिउडलाई मेकिङमा जित्न सक्दैन, अरबौँ खर्च गर्न सक्दैन, यस्तोमा हामीले हाम्रै कथाहरु फिल्ममार्फत भन्यौँ भने दर्शक हलसम्म तानिने रहेछन् ।

अर्को महत्वपुर्ण कुरा, हिन्दी र अंग्रेजी फिल्म आउँदा पहिलो दिनको पहिलो शो नै बुकिङ हुने चलन छ तर नेपाली फिल्ममा यस्तो हम्मेसी देखिदैन । नेपाली फिल्मको चै बुकिङ भन्दा पनि काउन्टरमा नै गएर टिकट लिएर फिल्म हेर्ने जमात छ । यो कारण हो, नेपाली फिल्म हेर्ने र बलिउड हलिउड फिल्म हेर्ने दर्शकहरुको उमेर समूह फरक हुन्छ । हिन्दी अंग्रेजी फिल्म पहिलो दिन पहिलो शो हेर्नेहरु प्राय: १६ देखि २४ बर्ष उमेर समूहका हुन्छन् । फिल्म कर्मीहरुले त्यो उमेर समूहलाई जित्न सके, पक्कै पनि नेपाली फिल्मको पहिलो दिन पहिलो शोको बुकिङ हुन थाल्नेछ ।

अन्त्यमा, नेपाली फिल्म क्षेत्र कोरोनाले गर्दा धेरै आहत भएको छ तर यो आहत केवल कोरोनाको कारण मात्रै भएको हो भनेर यसको समाधान खोजियो भने नेपाली फिल्म क्षेत्रको समस्याको वास्तविक समाधान निस्किदैन । फिल्म क्षेत्र कोरोना भन्दा अगाडी पनि समस्याग्रस्त थियो । ति समस्याहरु वास्तविक र लामो समयका समस्याहरु हुन् । कोरोना प्रभाव समस्याका बारेमा छलफल गर्दै गर्दा हाम्रा वास्तविक समस्याको निदानका बारेमा पनि सोच्न छोड्नु हुन्न ।

Leave a Reply