राजेश हमालको अनुरोध,‘दीपाश्रीलाई माफि दिनुहोला’(भिडियो)

नायिका तथा निर्देशक दीपाश्री निरौला आफूले दिएको अभिव्यक्तिका कारण विवादमा परिन् । उनले अन्तर्वार्तामा राजेश हमाल महानायक हो र ? भन्दै प्रश्न गरेपछि उत्पन्न भएको विवाद अझै रोकिएको छैन । दीपाश्रीले माफी मागिसके पनि गालीको वर्षा रोकिएको छैन । र अब भने अंततः यसबारे नायक राजेश हमालले आफ्नो भनाइ सार्वजनिक गरेका छन् । नायक राजेश हमालले कलाकार तथा निर्देशक दीपाश्री निरौलालाई माफि दिन सबैसँग आग्रह गरेका छन् । मध्यरातमा फेसबुकमा एक भिडियो सार्वजनिक गर्दै हमालले भनेका छन्–‘मेरो अनुरोध छ कि, यो राष्ट्रको सिने क्षेत्रका लागि, कला क्षेत्रका लागि, मानवताका लागि अत्यन्तै सकारात्मक भएर सम्बन्धित व्यक्तिलाई माफि दिनुहोला ।’

हमालले व्यक्तिगत हिसाबले आफू सहिष्णुता भएको र जनताको मायाले नै आफूलाई यो प्राप्त भएको बताएका छन् । उनले भने–‘दर्शकहरुलाई म हृदयदेखि नै अनुरोध गर्न चाहन्छु, कि अली फराकिलो भएर वृहत्त चित्रलाई मनन गरेर सकारात्मक हिसाबबाट मानवताको लागि कसैको मानवताको आँच नपुग्ने गरि अभिव्यक्ति प्रकट गरौ ।’हमालले कला क्षेत्र दर्शकको पनि भएको भन्दै आफूहरु मैदानमा उत्रिएको सुनाए । भने–‘यो कला क्षेत्र हामी केहीको मात्र होइन, दर्शकको पनि हो । मैदानमा हामी उत्रन्छौ, हामी मिहिनेत गर्छौ । तर, यसको पछाडि उर्जा दर्शकबाटै प्राप्त हुन्छ । तपाइहरुको भूमिका हाम्रो कला र सिर्जनामा अत्यन्तै ठूलो छ ।’ झण्डै ९ मिनेटको भिडियोमा अभिनेता हमालले दीपाश्रीको नाम कतै पनि उच्चारण गरेका छैनन् । दीपाश्रीको आलोचना अझै पनि तिब्र भइरहंदा महानायक हमालले भिडियो सन्देशमा गरेका आग्रहसँगै अब यो विषय साम्य हुने हो कि,आशा गरौं ।

Leave a Reply