सुशान्तको अन्तिम चलचित्र ‘दिल बेचारा’को टाइटल गीत सार्वजनिक(भिडियो)

बलिउड अभिनेता सुशान्त सिंह राजपुतको अन्तिम चलचित्र ‘दिल बेचारा’को टाइटल गीत सार्वजनिक भएको छ । एआर रेहमानको स्वर रहेको यस गीतलाई रेहमानले नै कम्पोज र एरेन्ज गरेका हुन् । गीतमा अमिताभ भट्टाचार्यको शब्द रहेको छ । मुकेश छाबडाले निर्देशन गरेको चलचित्रको गीतको भिडियोलाई फराह खानले कोरियोग्राफ गरेकी हुन् । निर्देशक छाबडाका अनुसार सुशान्तले यस गीत एक टेकमा नै सुट गरेका थिए । यस गीतको लागी सुशान्तले एक दिन मात्रै तयारी गरेका थिए । गीत युट्युबमा सार्वजनिक भए लगत्तै दर्शकको राम्रो साथ पाइरहेको छ। अभिनेत्री सन्जना सांघीले यसै चलचित्रबाट बलिउडमा डेब्यु गर्न लागेकी हुन् । चलचित्रमा सुशान्त र संजना सांघीको मुख्य भूमिका रहेको छ भने सैफ अलि खानको पनि महत्त्वपूर्ण भूमिका रहेको छ । मुकेश छाबडाको निर्देशनमा बनेको चलचित्र ‘दिल बेचारा’ लकडाउनका कारण रिलिज हुन पाएको थिएन । यो चलचित्र जुलाई २४ देखि डिज्नी प्लस र हटस्टारमा रिलिज हुँदैछ । डिज्नी हटस्टारमा रिलिज हुने फिल्म निःशुल्क हेर्न पाइने बताइएको छ ।

‘दिल बेचारा’ सन् २०१४ को सफल अमेरिकी चलचित्र ‘द फल्ट इन आवर स्टार्स’ को बलिउड रिमेक हो ।केही दिन अघि यस चलचित्रको ट्रेलर सार्वजनिक गरिएको थियो जसलाई दर्शकले निकै मन पराएका छन् भने युट्युबमा कयौँ रेकर्ड समेत तोड्न सफल भएको छ । सुशान्तको अन्तिम चलचित्र भएका कारण ‘दिल बेचारा’ हेर्न दर्शकहरु निकै आतुर छन् । ३४ वर्षीय सुशान्तले १४ जुनमा डिप्रेसनका कारण आफ्नै घरमा झुन्डिएर आत्महत्या गरेका थिए । अब दर्शकले सुशान्तको अभिनय रहेको चलचित्र यो भन्दा पछि हेर्न पाउने छैनन् ।

Leave a Reply