साम्राज्ञीले चलचित्रमा काम गर्दा आफुमाथि भएको दुर्व्यवहार बारे बताइन्(भिडियो)

नेपाली चलचित्र क्षेत्रकी निकै सुन्दर,चर्चामा आएकी र रुचाइएकी अभिनेत्री साम्राज्ञी आरएल शाहले इन्स्टाग्राममा एक भिडियो साझेदार गर्दै चलचित्रमा काम गर्दा निकै नै नराम्रो व्यवहार भोगेको बताएकी छन् । उनले आफूले सबै कुरा भन्न नसक्ने पनि बताएकी छन् । उनी भन्छिन्, ‘मैले काम गरेका तीन वटा ब्यानरमा अति नै नराम्रो व्यवहार भोगेकी छु’ ।
चलचित्र ‘ड्रिम्स’ बाट डेब्यु गरेकी उनले नेपाली चलचित्र क्षेत्रमा ५ वर्ष बिताइसकिन् । यो अवधिमा उनले ८ चलचित्रमा काम गरिसकेकी छिन् । उनले ‘ए मेरो हजुर २’,’ तिमी सँग’, इन्टु मिन्टू लन्डनमा’, ‘कायरा’, ‘मारुनी’, ‘रातो टिका निधारमा’ लगायत चलचित्र काम गरिन् । आफ्नो मनको कुरा भन्दै साम्राज्ञीले भनिन्–‘मैले १७ वर्षको उमेरमा नै चलचित्र क्षेत्रमा डेब्यु गरेँ । त्यतिबेला चलचित्र क्षेत्र सानो भएकाले सबै कुरा बाहिर ल्याउनु हुँदैन भनेर मलाई भन्नुहुन्थ्यो । हरेक चलचित्रको प्रमोसनमा पुग्दा मलाई किन घमण्डी हुनुहुन्छ भनेर प्रश्न सोधिन्थ्यो । यसले मलाई दिक्क बनाउथ्यो ।’ साम्राज्ञीले काम गरेका प्राय ब्यानरमा उनी दोहोरिएकी छैनन् । यस विषयमा साम्राज्ञी भन्छिन्–‘म नदोहोरिनुको कारण उहाँहरूले मलाई गर्ने व्यवहार नै हो । एउटा कलाकारले पाउनुपर्ने सम्मान पनि पाइँदैन यहाँ । कैयौं पटक ह्यारेसमेन्ट भएको छ । तर यी सबै कुरालाई सामान्य जस्तो सोचेर अनुहारमा खुसी देखाएर काम गर्नुपर्थ्यो ।’

साम्राज्ञीले समयमै खाना, पानी उपलब्ध नहुँदा यो विषयमा बोल्दा समेत अपशब्द प्रयोग भएको बताएकी छन् । उनले आफूलाई यस्तो विषयमा बोल्दा निकै नै नराम्रो व्यवहार भएको भन्दै धेरै बेर रोएर फेरि केही नभएजस्तो गरेर काममा फर्किएको अनुभव पनि सुनाएकी छन्। साम्राज्ञीले आफूलाई कामको सम्मान रहेको पनि बताएकी छन् । साम्राज्ञीले चलचित्र क्षेत्रमा भोगेका भोगाइको विषयमा आफूलाई केही निर्देशकले बोल्न हुँदैन भनेर भनेको पनि बताइन् ।साम्राज्ञीले एक जना निर्देशकको रुष्ट व्यवहारको विषयमा आफूले सुनेको तर त्यस्तो हुनुहुन्न होला भनेर काम गरेको बताउँदै भनिन्–‘तर मैले काम गरेपछि सबै सोचाइहरू टुटेर गए । मेकरहरू यस्तो विषयमा बोल्न हुन्न भन्नुहुन्छ । तर यस्तो विषय बाहिर नआओस् भनेर सोच्ने मेकरले कलाकारलाई सम्मान गर्न पनि सिक्नुपर्छ ।’ उनले आफूले यो विषयमा बोल्दा आफूलाई माया वा घृणा जे पनि आउन सक्ने बताएकी छिन् ।  बोल्ने क्रममा धेरै पटक भावुक देखिएकी यी नायिकाले केही समय अगाडि फ्यानहरूसँग कुरा गर्दै आफूले अब पहिलेको जसरी धेरै चलचित्रमा काम नगर्ने पनि बताएकी थिइन् ।

 

 

Leave a Reply