‘प्रेमगीत ३’को रिलिज आगामी चैत्रमा

नयाँ वर्ष २०७७ को छेको पारेर चैत २८मा प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘प्रेम गीत ३ ’ कोरोनाको त्रासमा नेपाल सरकारले गरेको लकडाउनका कारण सो मितिमा रिलिज हुन भने सकेन ।अब भने यो चलचित्र यसै वर्षको अन्तिम महिना चैत्रमा रिलिज हुने भएको छ । निर्माता निर्देशक सन्तोष सेनले, प्रतिक्षाको फल मिठो हुने र आउदो चैत्र अर्थात नयॉ वर्ष भन्दा पनि उचित समयलाई मध्यनजर गरेर चॉडै दर्शक माझ् लिएर आउने बताए । जति मेहनत चलचित्र बनाउन खर्चेका थियौ अझ धेरै मेहनत प्रदर्शन,बाज़ारीकरणमा जोड दिने पनि उनको भनाइ छ ।

चलचित्रको सार्वजनिक गरिएको दुई गीत र टिजरले दर्शकको सकारात्मक प्रतिक्रिया बटुलिरहेको छ । चलचित्रमा प्रदीप खड्का तेस्रो पटक ‘प्रेम’को रुपमा देखिँदैछन् भने नव-अभिनेत्री क्रिस्टिना गुरुङ ‘गीत’ र सन्तोष आफैँ ‘अंगत’को भूमिकामा पर्दामा देखिनेछन् । प्रदीप र क्रिस्टिनाका साथमा शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, सम्वृद्धि शाही ठकुरी, क्रिजन गौतम, जीवन बराल, जीवन भट्टराई, सुजल बस्नेतलगायतका कलाकारको पनि अभिनय हेर्न सकिनेछ ।

सन्तोष सेनको लगानीमा बन्न लागेको चलचित्रमा चत्र बहादुर चन्द र डम्बर बिक्रम सेन कार्यकारी निर्माताको रुपमा रहेका छन् । कल्याण सिंह र एलिश कार्कीको संगीत रहेको चलचित्रमा प्रताप दास, मेलिना राई, सागर आले र प्रविशा अधिकारीले स्वर भरेका छन् । तीन करोड लागतमा बनेको चलचित्रमा राजेश श्रेष्ठको डिओपी, हिमाल केसीको एक्सन, कविराज गहतराजको कोरियोग्राफी र बनिश शाह/भुपेन्द्र अधिकारीको सम्पादन रहनेछ ।

Leave a Reply