राजेश हमाल भन्छन्–‘नेपाली जनताले आफ्नो सीमाको विषयमा कुनै पनि खालको सम्झौता गर्ने छैन’(भिडियो)

नेपाल सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेर नेपालको नयाँ नक्सा सार्वजनिक गरेसँगै भारतीय मिडियामा यसलाई लिएर टिप्पणी सुरु भइसकेको छ। र यतिबेला यो विषयमा विभिन्न खालका प्रतिक्रिया आइरहेका छन् । यो विषयमा नेपाली चलचित्रका कलाकारहरूले पनि आवाज उठाउन थालेका छन् । एकातिर, नायिका मनिषा कोइरालाले गरेको एक ट्विटको विषयलाई लिएर भारतीय मिडियाले उनको चर्को आलोचना गरेका छन् ।

यो विषयमा नेपाली चलचित्रका चर्चित नायक राजेश हमालले पनि आफ्नो भनाइ सार्वजनिक गरेका छन् । नायक हमालले फेसबुकमा भिडियो नै सार्वजनिक गर्दै आफ्नो भनाइ राखेका हुन् । हमालले अंग्रेजी भाषामा सार्वजनिक गरेको आफ्नो विचारमा भनेका छन्–‘छिमेकी मित्रराष्ट्र भारतको पछिल्लो गतिविधिले हामी सबै नेपालीलाई मर्माहत बनाएको छ । इतिहास नै साक्षी छ कि, लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालकै भू-भाग हो ।’ हमालले भारतको पछिल्लो समयको गतिविधि स्वीकार्य नभएको पनि उल्लेख गरेका छन् । उनले सम्पूर्ण नेपाली जनताले आफ्नो सीमाको विषयमा कुनै पनि खालको सम्झौता नगर्ने उल्लेख गरेका छन् ।

हमालले नेपाल र भारतबीच उठेको सिमानाको समस्याले सिङ्गो देशका नागरिकलाई जस्तै आफूलाई पनि मर्माहत बनाएको बताएका छन् । उनले भारतलाई इतिहास पल्टाएर हेर्न पनि आग्रह गरेका छन्। हमालले भारतले भूकम्पको समयमा नेपालमा नाकाबन्दी लगाएर भारतले दिएको ठूलो दुःखलाई नेपालले कहिले पनि बिर्सन नसक्ने पनि बताएका छन् ।उनले भनेका छन्–‘भारतले सिमानाको समस्यालाई इतिहास, तथ्यांक र प्रमाणको आधार हेरेर कूटनीतिक तवरमा समस्या समाधान गर्न आवश्यक छ । सिमानाको समस्याले गर्दा नेपाली जनतामा उठिरहेको आक्रोशलाई शान्त बनाउन भारतले सहयोगी भावका साथ कदम चाल्न जरुरी छ ।’

Leave a Reply