रविले सावधानी नअपनाएर हेलचेक्राइ भएको स्विकार्दै मागे माफी

विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणका कारण यतिबेला विश्व नै लक डाउनमा छ । नेपालमा पनि जेष्ठ ५ गते सम्मको लागि लकडाउन घोषणा गरिएको छ र सरकारले पनि अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन आग्रह गरिरहेको छ । भने राजधानी लगायत विभिन्न जोखिम युक्त स्थानमा बिहीबारदेखि लकडाउन कडाइ गरिएको छ । सरकारले दुई महिना अगाडी नै कुनै भेला सम्मेलन तथा समारोह गर्न प्रतिबन्ध लगाएको छ । सरकारको आग्रह विपरीत टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित चर्चित कलाकारहरूले भोज गरेको विषयको अहिले चर्चा चलेको छ । यस जटिल अवस्थामा सञ्चार कर्मी रवि लामिछाने, उनकी पत्नी निकिता पौडेल, कलाकारहरू किरण केसी, दीपकराज गिरी, दीपाश्री निरौला, पूजा शर्मा लगायत सहभागी भएको भिडियो र तस्बिर सार्वजनिक भएपछि विवाद सुरु भएको छ । जनाताका विश्वासका पात्र रवि लामिछानेले यसरी आफूहरूले हेलचेक्राइ गरेकोमा माफी मागेका छन् । उनले बुधवार सामाजिक सञ्जालमा एक स्ट्याटस सार्वजनिक गर्दै आफूहरू कुनै पार्टी नगरेको बताएका छन् ।

उनले आफूहरू अत्यन्त सजग र सचेत हुँदै चिने जानेका साथीहरूको आग्रहमा,महत्त्वपूर्ण सल्लाह र छलफल सके पछि घर भित्रै ६र८ जना मात्रै भएको स्थानमा पाकेको र पकाएको खाना खाएको बताएका छन् । उनी लेख्छन्,’ खाना खाएको फोटोमा चर्चा चलेछ। पार्टी गरेको होइन,रमझम पनि होइन,सार्वजनिक स्थानमा भिडभाड जम्मा गरेको पनि होइन।अत्यन्त सजग र सचेत हुँदै चिने जानेका साथीहरूको आग्रहमा,महत्त्वपूर्ण सल्लाह र छलफल सके पछि घर भित्रै ६/८ जना मात्रै भएको स्थानमा पाकेको पकाएको खाना खाएका हौँ । हामीले आफ्नो घरमा कसैलाई बोलाएर भोज,भतेर वा जमघट गरेका होइनौ। काम पछि, छलफल सकिए पछिको सामान्य खाना हो,साथीले श्रद्धाले पस्केर दिएको खाना।रमाइला साथीहरू भेट्दा र फोटो खिच्दा २ इन्ची बढी जरुर हाँसियो,गल्ती चाहिँ आवश्यक दुरी कायम गरिएन। भएको चाहिँ यत्ति हो। अस्तिबाट सङ्क्रमितको सङ्ख्या बढेपछि हिजो कै कार्यक्रममा आफ्नै आलोचना गरेको छु।

लकडाउनको सुरुवातका दिनमा जस्तो होसियार भैएन, हेलचेक्राइ गरियो,आजबाट म त सचेत हुन्छु तपाईँ पनि सजग हुनुहोस् भनेको छु। सायद जसलाई माया गरिन्छ उसैबाट अपेक्षा गरिन्छ त्यसैले अन्यथा पटक्कै लिएको छैन। सबै आलोचनाहरूलाई स्विकार्दै आगामी दिनमा अझै बढी जिम्मेवार,सजग र सचेत हुने प्रयास गर्नेछु । आज पनि बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म स्टुडियो भित्र थिएँ । कामबाट ब्रेक लिएर आज पनि साथीहरूसँगै खाना खाएको छु, तर भोज वा पार्टी गरेको छैन, होइन । धन्यवाद !’आफ्नो टेलिभिजन कार्यक्रम मार्फत निकै मनन योग्य र भावुक विचार राख्ने र सबैलाई आफ्नै घरमा बसेर जे छ त्यही खान र सुरक्षित रहन आग्रह गर्ने लामिछानेले आफूलाई माया गर्ने जनताको मन दुखाएकोमा आफू लज्जित भएको र अब गल्ती नदोहोर्‍याउने बताएका छन् ।

Leave a Reply